शनिश्चरे मावि अर्जुनधारा ८ मा विद्यालयको नयाँ चमेना गृहको शीलान्यास भएको छ । विहीबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिं गोम्देनले चमेना गृहको शीलान्यास गरेका हुन् । 

प्रदेश सरकारले स्थानीय तहहरूसँगको साझेदारीमा प्रदेशभरिका १३ वटा माध्यमिक विद्यालयहरूलाई नमुना मावि विकास कार्यक्रमका छनौट गरेकोमा शनिश्चरे मावि समेत कार्यक्रमका लागि छनौटमा परेको हो ।

चालू आर्थिक वर्षका लागि उक्त कार्यक्रम अन्तरगत मन्त्रालयको ४२ लाख ५० हजार र अर्जुनधारा नगरपालिकाको १४ लाख २०  हजार रुपैयाँको लागत साझेदारीमा विद्यालयमा विभिन्न भौतिक, शैक्षिक तथा व्यवस्थापकीय कार्यहरू गर्ने विद्यालयले योजना तयार गरेको छ ।

सुविधायुक्त चमेना गृह निर्माण, शौचालयहरूको मर्मत, पुस्तकालय र आइसिटी ल्यावको थप व्यवस्थापन, बास्केट बल कोर्ट, भलिबल कोर्ट , टेबल टेनिस कोर्ट निर्माण , कार्यालय कक्षा व्यवस्थापन चालू आर्थिक वर्षका योजना भित्र परेका छन् । 

नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षहरूमा प्राप्त हुने अनुदानबाट थप कार्यहरू गर्नका लागि विद्यालयले नमुना विद्यालय विकास गुरुयोजना समेत तयार गरेको छ ।

वि सं २००५ मा स्थापना भएको शनिश्चरे मावि झापा जिल्लाकै दोस्रो पूरानो विद्यालय हो । हाल यो विद्यालयमा करिब १२०० विद्यार्थीहरू अध्ययनरत छन् ।