झापाको बिर्तामोड ३ स्थित बिराटपोखरी दक्षिण बस्तीका बालबालीकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । आज शुक्रबार एक संक्षिप्त कार्यक्रमकाबिच सो बस्तीका बालबालिकालाई किताब बोक्ने झोला, कपी र पेनसील वितरण गरिएको हो ।
साक्षरता तथा जनचेतना अभियान २०८० अन्तरर्गत आज दोस्रो दिनमा उक्त बस्तीका बालबालिकालाई सहयोग गरिएको बिर्तामोड वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीले जानकारी दिए ।
यो कार्यक्रम अन्तरगर्त बिहिबार बिर्तामोड ३ को मुसहर बस्तीका बालबालिकालाई सहयोग गरिएको थियो । बिर्तामोड ३ नम्बर वडाको संयोजन तथा सिम्रिक साकोस, इक्यान झापा, मनरमा हिमालय हेन्डिक्राफ्ट प्रा.लि र लाइफ केयर वाटरको सहयोगमा उक्त सामाग्री वितरण गरिएको हो ।
शिक्षा नै सबै भन्दा ठुलो सम्पत्ति भएको भन्दै विद्यालयको पहुंच बाहिर रहेका बालबालिकालाई विद्यालय पठाउन वडाध्यक्ष बुढाथोकीले अभिभावक समक्ष आग्रह गरेका थिए ।
अध्ययनकालागि विद्यालय पठाउनैे नसक्ने अवस्थाका अभिभावकलाई विद्यालयसंग समन्वय गरेर वडाले सहज वातावरण मिलाई दिने भन्दै आफ्ना बालबालिका विद्यालय पठाउन वडाध्यक्ष बुढाथोकीले अनुरोध समेत गरेका छन् ।
कार्यक्रममा सहयोगि संस्था सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराईले सामाजिक उत्तर दायित्व अन्तरर्गत सहयोग गरिएको बताए । साथै उनले थोरै भए पनि बचत गर्ने बानीको विकास गर्न सके बालबालिकालाई अध्यनमा सहयोग पुग्ने भन्दै अभिभावकलाई केहि रकम बचत गर्ने बानीको विकास गर्न आग्रह गरे ।
कार्यक्रममा टोल विकास संस्थाका मोहन उप्रेतीले यस्ता कार्यक्रमले विपन्न नागरिकलाई ठूलो सहयोग पुग्ने भन्दै आयोजक प्रति आभार प्रकट गरेका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड ३ वडाका वडा सदस्य हरि बांस्कोटाले गरेका थिए ।