काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री विश्वप्रकाश शर्माले नक्कली शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। ओलीले निर्दोषलाई फसाउन खोजिएको भन्दै दिएको अभिव्यक्तिप्रति उनले विमति जनाए।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा छलफलमा बोल्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख प्रतिपक्षी दलको नेताले दोषीलाई उम्काउने खोजिँदै भन्ने आशंकामा राज्यले ध्यान देला नै।

तर, उहाँले निर्दोष फसाउने प्रयास भइरहेको छ भन्ने वाक्य प्रयोग गर्नुभयो। यही रोष्ट्रमबाट। को दोषी को निर्दोष प्रहरीले छानबिन गर्दैछ। हामीले न्यायाधीश होइनौँ।’ उनले निर्दोष कोही फस्न नहुने र दोषीलाई कारबाही गर्नका लागि सरकारलाई साथ दिने बेला भएको बताए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने समय नभएको बताए। उनले विगतमा भएका सबै भ्रष्टाचारको फाइल खोल्न प्रस्ताव गरे। nepalpress.com