काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको प्रबन्ध निर्देशक फेर्न तीन करोड रुपैयाँको प्रस्ताव गरेको र त्यसलाई अस्वीकार गरेकै कारण आफूमाथि नियोजित प्रहार भएको दाबी गरेका छन् ।

गीतकार संघको १४औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले आफू सेटिङमा चल्न नमान्दा र भ्रष्टाचार गर्न अस्वीकार गरेकै कारण जग्गा प्रकरणमा अनावश्यक रुपमा मुछ्न खोजिएको दाबी गरेका हुन् ।

‘एकदिन फोन गर्ने व्यक्तिलाई भेट्दा टोकन मनी एक करोड, नियुक्त गरेका सात दिनमा एक करोड र त्यसको एक महिनापछि एक करोड दिने प्रस्ताव गरेका थिए’, उनले भने, ‘मैले घुस अस्वीकार गरेकै दिनदेखि प्रहार सुरु भएको थियो ।’

कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने साविक गोठाटारमा रहेको जग्गा प्रकरणमा आफूलाई अनावश्यक आरोप लगाइएको मन्त्री किराँतीको भनाइ छ ।

उनले सो क्षेत्रमा रहेको जग्गामध्ये ५०४ रोपनीको हालसाविक गरी तारबार गर्ने र ३१ रोपनी खोज्न नापी र मालपोतको सदस्य रहने गरी सात सदस्यीय समिति गठन गर्ने निर्णय भएकोमा ३१ रोपनी जग्गालाई वैधता दियो भनेर प्रचार गर्न केही मान्छेहरु नियोजित रुपमा लागेको जिकिर गरे ।

केही मान्छेहरु घुस अस्वीकार गरेकै कारण आफूविरुद्ध लागेको भन्दै मन्त्री किराँतीले यस विषयमा भ्रमित नहुन र जुनसुकै अदालतमा गएर बोल्न तयार रहेको स्पष्ट पारे ।

उनले केही दिन कुर्सीमा बसेर देश र जनताका लागि काम गर्ने इच्छा भएको भन्दै आफू मुखले नभई मुटुले बोल्ने मान्छे भएको उल्लेख गरे ।