झापा
मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिको आयोजनामा झापाको बिर्तामोडमा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता २०८० हुने भएको छ ।
कोसी प्रदेश अन्तरगर्त यही जेठ २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिताको आयोजना गरिएको एकेडेमीका उपमहासचिव तथा पूर्वप्रमुख कराते प्रशिक्षक मदन उप्रेतीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पुरुष महिलाका विभिन्न तौल समूहमा खेलाइने प्रतियोगितामा १९ वटा इभेन्ट रहने पनि उनले बताए ।
सभामुख देवराज घिमिरेले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा सात प्रदेश र आयोजक टीम गरी आठ टीम सहभागी हुने छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटीले खेलमार्फत मदन भण्डारीका विचारलाई जनतासम्म लैजाने अभियानमा सबै लाग्नुपर्ने बताए ।
युवा पुस्ता दुर्व्यसनमा फस्दै गएको प्रति चिन्ता व्यक्त गर्दै शिवाकोटीले खेलले खेलाडीलाई अनुशासनमा बाँध्ने भएकाले प्रतियोगितको आयोजना गरिएको बताए ।
प्रतियोगितामा प्रत्येक इभेन्टको स्वर्ण पदक प्राप्त गर्ने खेलाडीले नगद १० हजार, रजत पदकले ७ हजार र कास्य पदक पाउने खेलाडीले ४ हजार, मेडल तथा प्रमाणपत्र पाउने एकेडेमीका कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष तुलसी मैनालीले बताए ।