कनकाई :  झापाको कनकाई नगरपालिकाका नगर क्षेत्रका किसानलाई मकै छोडाउने मेसिन प्रदान गरिएको छ ।

कनकाई नगरपालिकाले वडा नं ४ र ५ का २२ जना किसानलाई मकै छोडाउने मेसिन प्रदान गरेको हो । नगरले कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले विभिन्न उपकरण प्रदान गर्दै आएको नगरप्रमुख राजेन्द्र पोखरेलले बताए । 

किसानले औजारको प्रयोग गर्दा लागत मूल्य घट्नुका साथै समय बचत हुने भएकाले नगरले कृषिमा यान्त्रिकीकरण गरिरहेको उनले बताए ।  कृषिलाई निर्वाहमुखीबाट व्यावसायिक बनाउनुपर्नेमा जोड दिँदै उहाँले उन्नत प्रविधि र बिऊ विजन प्रयोग गर्नुपर्नेमा जोड दिए ।

कनकाई–५ स्थित बेनुबाजा कृषि सहकारी संस्थाको समन्वय, कनकाई वडा नं ५ को सिफारिसमा नगरपालिकाले किसानलाई मकै छोडाउने मेसिन प्रदान गरेको नगरपालिकाका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिए । 

यता, नगरपालिकाले कृषि लक्षित कार्यक्रमहरु धमाधम गरिरहेको छ । हालै नगरले कृषकलाई निःशुल्क दुई हजार मन धानको बिऊ वितरण गरेको छ । पशु बिमा, निःशुल्क पशु स्वास्थ्य शिविर, बिउ बिजन वितरण, गोठ सुधार कार्यक्रम लगायतका कार्यक्रम गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।