आर्ट स्टुडियो बिर्तामोडले नाटक ‘खरानीको धागो’ मञ्चन गर्ने भएको छ ।  जेठ २३ देखि ३० सम्म  हिमाल सागर पार्टी प्यालेसमा नाटक मञ्चन गर्न लागिएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो ।

झापा र काठमाडौँका कलाकारको अभिनयमा नाटक मञ्चनको तयारी गरिएको अध्यक्ष शान्तादेवी पौडेलले बताइन् । 

चे शंकरको लेखन तथा निर्देशन रहेको नाटकमा २३ जना कलाकारले अभिनय गर्नेछन् ।

नाटकमा पूर्वी पहाडको एउटा रित्तिदो गाउँ र जनजीवनलाई देखाइएको छ । एक महिना लामो कार्यशालापछि नाटक मञ्चनको तयारी भएको निर्देशक शंकरले बताए ।

पत्रकार सम्मेलनमा  साहित्य चौतारीका संरक्षक देबीभक्त श्रेष्ठ, समाजिक व्यक्तित्व देवी संग्रौला लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन संचारकर्मी सरोज पौडेलले गरेका थिए  ।