बिर्तामोड क्षेत्रमा गैर नेपाली चालकहरुले तीन प्राङ्ग्रे सिटी रिक्सा सञ्चालन गर्दा नेपाली चालकहरु मारमा परेका छन् ।
भारतीय मुलका अटो चालकहरुका कारण नेपाली सिटी चालक मारमा परेको तथा यात्रुहरु पनि ठगिएको भन्दै त्यसको बिरोधमा नेपाली चालकहरु आन्दोलित भएका छन् । साथै उनीहरुले तत्काल नियन्त्रण गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छन् । बिर्तामोड क्षेत्रमा मात्र २ सय ५० भन्दा बढी भारतीय मुलका अटो चालकहरु रहेको भन्दै उनीहरुलाई नियन्त्रण गर्नु पर्ने माग राख्दै आज बिहिबार नेपाली चालकले बिर्तामोड नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा पनि डेलिगेसन गएका छन् ।
पुर्वेली मजदुर यातायात प्रालीको अगुवाईमा सयौं अटो चालकहरुले बिर्तामोड नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा अबैध अटो सञ्चालन गरेको भन्दै नियन्त्रणको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
भारतीय चालकहरुले यात्रुसँग जथाभावी भाडा असुल्ने, लागु औषधको संगठित कारोबार गर्ने, यात्रुको मालसामान चोरी गर्ने दुर्घटना गराई फरार हुने सम्मका गतिविधि बढेको भन्दै नियन्त्रणको माग गरेको पुर्वेली यातायात मजदुर प्रालीका अध्यक्ष हरी प्रसाद बाँस्कोटाले बताए ।
बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले यसै आर्थिक बर्षदेखि कानुन निर्माण गरी अटो रिक्सालाई दर्ता गर्ने प्रकृया अघि बढाउने आश्वासन दिइन् । उनले गैर कानुनी तवरले चलाई रहेका अटो रिक्साहरुलाई तत्काल नियन्त्रणमा लिने प्रतिबद्धता जनाइकी छन् ।
नेकपा एमालेका नगर अध्यक्ष सुवास भट्टराईको नेतृत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पुगेको टोलीले ट्राफिक प्रहरीलाई यस बिषयमा सक्रियता बढाउन आग्रह गरेको थियो ।
बिहीबार सम्ममा अवैध सञ्चालनमा रहेका १० वटा अटो रिक्सालाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई राजकुमार बस्नेतले जानकारी दिए । उनले अहिले जिल्लाका बिभिन्न मातहतका इकाईबाट चेकजाँच मा कडाई गरिएको बताए । उनले अधिकांश त्यस्ता सिटी रिक्साले कर नतिरेको र धेरै नै पुरानो भएकालाई मर्मत सम्भार गरेर चलाउंदै आएको पनि बताए ।
केहि बर्ष अघि नै किनेर जिर्ण बनेका सिटी रिक्साको नम्बर ग्यारेजमा मोडीफाई गरेर बनाइएका सिटीमा जडान गरेर कुदाउंदै आइरहेको समेत फेला परेको ट्राफिक प्रहरीले जनाएको छ ।
बिना दर्ता, बिना कर र बिना लाइसेन्सका यस्ता सिटी चालकहरुबाट खत्तरा बढेको भन्दै प्रहरीले पनि कडाई गरेको हो ।