स्वच्छ समाजकालागि सामाजिक अभियानलाई दाताहरुले आर्थिक सहयोग गरेका छन् । बुट्टाबारी निवासी समाजसेवी दाताराम लक्ष्मी तिम्सीना तथा बिर्तामोड स्थित डिल्ली सुनिता ओली परोपकारी फाउण्डेशनले अभियानलाई सहयोग गरेका हुन् ।
तिम्सीनाले ५० हजार र फाउण्डेशनले २५ हजार प्रदान गरेका हुन् । आज शुक्रबार एक संक्षिप्त कार्यक्रमकाबिच उक्त रकम अभियानका अध्यक्ष गणेश ढुङ्गानालाई उनीहरुले प्रदान गरेका हुन् ।
असाहय, गरिब तथा दिनदुःखीहरुकालागि आश्रम निमार्ण गर्ने उदेश्यले लामो समयदेखि बजार क्षेत्रमा रहेका फोहोर संकलन गर्दै अभियान्ता गणेश ढुङ्गाना हिंडिरहेका छन् । पानीका बोतल, प्लाष्टिक सहितका अन्य फोहोर संकलन गर्दै त्यो बिक्री गरेर असाहय, गरिबलाई राख्नकालागि आश्रम बनाउन ढुङ्गाना लागि परेका छन् ।
आश्रम निमार्ण गर्न अर्जुनधारा ११ मा १ कठ्ठा जग्गा बैना गरिसकिएको ढुङ्गानाले बताए । त्यही जग्गा खरिदकालागि दाताहरुले अहिले सहयोग गर्दै आइरहेको पनि उनले बताए ।
अभियान्ता ढुङ्गानाले फोहोर संकलन गरेको देखेर दाताहरुले सहयोग गरेका हुन् । पवित्र उदेश्यले अभियानले थालेको कार्यमा सबैले सहयोग गरिदिन अभियान्ता ढुङ्गानाले आग्रह गरेका छन् ।
रकम हस्तानतरण कार्यक्रममा अभियानका सल्लाहकार बोलप्रसाद कोइराला, दाताहरु तिम्सीना, डिल्ली ओली र सुनिता ओली लगायतले सकारात्मक कार्यमा आफुहरुले सहयोग गरेको बताए । कार्यक्रमको सञ्चालन अभियानका रञ्जित परियारले गरेका थिए ।