बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन ।

आज शनिबार संस्थाको सभाहलमा आयोजित ‘सपथ तथा पद हस्तान्तरण समारोह’मा उनीहरुले पदभार ग्रहण गरेका हुन् ।

निर्वाचन समिति संयोजक नारायणप्रसाद पौडेलले नवनिर्वाचत अध्यक्ष मेघराज बांस्तोला सहित पदाधिकारी तथा सदस्यहरुलाई सपथ  ग्रहण गराएका हुन् ।

गत जेठ १५ गते भएको निर्वाचनमा अध्यक्षमा मेघराज बाँस्तोला, उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा पारशमणि मैनाली र कोषाध्यक्षमा शारदा रिजाल निर्वाचित भएका हुन् ।

त्यस्तै, खुला सदस्यमा आनन्द गुरुङ र खगेन्द्रकुमार थापा, महिला सदस्यमा कमला अग्रवाल, बालादेवी खरेल र मायादेवी प्रधान निर्वाचित भएका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बाँस्तोलाले आफू र आफ्नो सिंगो टिम संस्था र उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष जलकुमार गुरुङले धेरै संषर्घ गरेर बिर्तामोड खानेपानीलाई अहिलेको अवस्थामा ल्याएको बताउंदै उनले अबको टिमले पनि राम्रो काम गर्नु पर्ने बताए  ।

कार्यक्रममा नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाईं, नेकपा एमाले झापा जिल्ला सदस्य बुद्धिराम भट्टराई, नेकपा (माओवादी केन्द्र) का बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष शम्भु भण्डारी,

राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष रञ्जु प्याकुरेल, जनता समाजवादी पार्टीका सोहन सोरालीमगर लगायतले नवनिर्वाचन टिमलाई शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।