भोलिदेखि इलामको माई नगरपालिकामा हुने २० वर्षमुनिको राष्ट्रिय रग्बी प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक नेपाल रग्बी संघले आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । पुरुष तथा महिला दुवैतर्फको खेल शुक्रबार र शनिबार हुने भएको हो ।

दुवैतर्फको खेलमा पाँच–पाँच टिमको सहभागिता रहने रग्बी संघ कोशी प्रदेश अध्यक्ष विनोद कटुवालले जानकारी दिए ।

प्रतियोगितामा हिमालयन टाइगर रग्बी क्लब, हेटौँडा रगर्स, कटारी रग्बी क्लब, कर्णाली रग्बी क्लब र बर्दिबास रग्बी क्लबको सहभागिता रहने उनले बताए ।

प्रतियोगिता रग्बीको यु–२० राष्ट्रिय टोली छनोट खेल पनि भएको कटुवालले जनाए । इलामबाट छनोट भएका खेलाडीले अगस्ट १९ र २० मा हुने एसियन खेलमा राष्ट्रिय टोलीबाट सहभागिता जनाउने छन् ।

प्रतियोगिता सेभेन ए साइड संरचनाअनुसार सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार र दोस्रो हुनेले ३० हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १३ लाख रुपैयाँ खर्च हुने र उक्त खर्च नेपाल रग्बी संघले व्यहोर्ने उनले बताए ।

प्रतियोगिता माई नगरपालिका ४ दानाबारीस्थित शुक्रबारे बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने आयोजक नेपाल रग्बी संघले जनाएको छ ।

नेपाल रग्बी संघको आयोजना रहने प्रतियोगिताको संयोजन प्रदेश रग्बी संघ, जिल्ला रग्बी संघ र माई नगर रग्बी संघले गर्ने छन् । केन्द्रीय स्तरबाट इलाममा आयोजना भएको यो नै पहिलो राष्ट्रिय प्रतियोगिता हो ।

नेपालले यसअघि २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको थियो । त्यसपछि २०१८ जुलाईमा पूर्ण सदस्यता पाएको थियो ।

नेपाल रग्बी संघले गेट इन टु रग्बी कार्यक्रम देशैभर सञ्चालनका साथै घरेलु प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न गरेको छ । गत भदौमा एसिया रग्बीले पूर्ण सदस्यताका लागि सिफारिसपछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो ।