बिर्तामोड :  झापाको बिर्तामोडमा भएको प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक टिम मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ ।

साथवटा प्रदेश र आयोजक समिति गरी आठ टिम सहभागी रहेको प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत पदक जित्दै च्याम्पियन बनेको हो ।

आयोजक टिमका पुरुषतर्फ ५० केजी तौल समूहका आशिष उप्रेती, ६७ केजी तौलका दिपक कोइराला, महिलातर्फ ४० केजीकी राजुरानी अधिकारी, ५० केजीकी मनिषा ढुंगाना र ६१ केजीकी पूजा चौधरीले स्वर्ण पदक जिते ।

त्यसैगरी, ४५ केजी तौल समूहकी प्रियंका राई र ६५ केजी माथिकी मेनुका मगरले रजत पदक प्राप्त गरेका छन् ।

दोस्रो हुने बाग्मती प्रदेशले समान ५ स्वर्ण र २ कास्य पदक हात पारेको छ । बाग्मतीका पुरुषतर्फ ६० केजी तौल समूहका अनिल उपरकोटी, महिलातर्फ ४५ केजी तौलकी जमुना तामाङ, ५५ केजी तौल समूहकी सञ्जीवनी कार्कीले स्वर्ण पदक जिते ।

बाग्मतीले शनिबार सम्पन्न खेलको कातातर्फका दुबै पदक हात पारेको थियो । बाग्मतीका लागि ५५ केजीका सरोज माझी र ७५ केजीमाथिका सुरज मगरले कास्य पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ । गण्डकीले दुईवटा स्वर्ण र एउटा कास्य पदक हात पारेको छ ।

गण्डकीका ५५ केजीका अंकित गुरुङ र ७५ केजी माथिका सजल बुढाथोकीले स्वर्ण जितेका हुन् । गण्डकीका लागि ६५ केजीमाथिको तौल समूहकी सिम्रन राईले कास्य पदक प्राप्त गरेकी छन् ।

प्रतियोगिताको चौथो स्थान कोशी प्रदेशले प्राप्त गरेको छ । कोशी प्रदेशले एउटा स्वर्ण, चार रजत र दुई कास्य पदक हात पा¥यो । कोशीका ७५ केजी तौल समूहका राजीव खड्काले स्वर्ण जितेका हुन् ।

रजतपदक ७५ केजी माथिको तौल समूहका रोशन धामी, ५० केजीका अंकित भेटवाल, ५५ केजी तौल समूहकी सञ्जीता लेप्चा र कातातर्फ करुणा राईले जितेका छन् । कोशीका ६० केजीका साहिल घिमिरे र ६१ केजी तौल समूहमा खेलेकी समीक्षा लेप्चाले कास्य पदक हात पारेका छन् ।

लुम्बिनी प्रदेश पाँचौँ स्थानमा रहेको छ । लुम्बिनीले १ स्वर्ण र ३ रजत पदक जितेको छ । लुम्बिनीका ६५ केजी तौल माथिकी दिया थापाले स्वर्ण जितेकी छन् । रजततर्फ ४० केजीकी सुशीला चौधरी, ६० केजीका याम बरुवाल र कातातर्फ रविन्द्र सुनारले पदक जितेका छन् ।

सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, २ रजत र ६ कास्य पदक जित्दै छैटौँ स्थानमा रहेको छ । सुदूरपश्चिमका ४५ केजी तौल समूहका प्रेम कार्कीले स्वर्ण, ५५ केजीका आशिष सेजुवाल र ६१ केजी तौल समूहकी सोनिया तिरुवाले रजत पदक हात पारेका छन् ।

कास्यतर्फ भने ७५ केजीका रमेशसिंह ठगुन्ना, ६७ केजीका रियाज कुँवर, ५५ केजीकी रिया पुजारा, ५० केजीकी उर्मिला ऐर, ४० केजीकी अञ्जली सापकोटा र कातातर्फ रोहित तामाङले कास्यपदक प्राप्त गरे ।

स्वर्ण पदक जित्न नसकेका मधेस र कर्णाली प्रदेश सातौँ र आठौँ स्थानमा रहेका छन् । मधेस प्रदेशले ३ रजत र ३ कास्य जितेको छ । मधेसका ७३ केजीका पंकज शर्मा, ४५ केजीका राहुल मण्डल र ५० केजी तौल समूहकी सविना दियालीले रजत पदक हात पारेका छन् ।

५० केजीका उज्ज्वल परियार, ४५ केजीकी सिमरन शाह र कातातर्फ सविना दियालीले नै कास्य पदक प्राप्त गरिन् ।

कर्णाली प्रदेशले १ रजत र १ कास्य पदक जितेको छ । कर्णालीका ६७ केजी तौल समूहका सन्दिप विकले रजत र ४५ केजी तौल समूहका मिलनकुमार राईले कास्य पदक हात पारेका छन् ।

प्रतियोगितामा स्वर्ण पदक जित्नेले १० हजार, रजत पदकलाई ७ हजार र कास्य पदक पाउनेले ५ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको आयोजक कमिटीका उपमहासचिव मदन उप्रेतीले जानकारी दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा महिलाहरुको ९ इभेन्ट र पुरुषहरुको १० इभेन्ट गरी १९ वटा इभेन्टमा खेल भएका थिए ।