अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले लिएको आर्थिक वृद्धि र राजश्वको लक्ष्य पूरा गर्ने दाबी गरेका छन । प्रतिनिधि सभामा आज बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उनले आगामी बर्षका लागि तय गरिएको छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नसक्ने आधारहरु रहेको बताएका हुन ।
अर्थमन्त्री महतले सरकारले राजश्वको दायरा बढाउँदै राजश्व संकलन बढाउन कगती निचोरे जस्तो गरेर नभई अर्थतन्त्र चलायमान बनाउने गरी राजश्व संकलन गर्र्ने नीति लिएको समेत बताए ।
अर्थमन्त्री महतले संसद विकास कोषको समेत बचाउ गरे । हरेक जनताले सांसदसँग अपेक्षा गरेकाले त्यही अपेक्षा अनुसार सांसदहरुको सिफारिस गरेकै आधारमा सबैलाई बराबर अधिकार हुने गरी संसद विकास कोष ल्याएको उनको भनाइ छ ।
अर्थमन्त्री महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको स्पष्टीकरण समेत दिए । आन्तरिक उत्पादनको बजार जोगाउन आयातित वस्तुमा कर लगाउनुपर्ने अवस्था भएकाले आलु प्याजमा मुल्य अभिबृद्धि कर लगाइएको उनको भनाइ थियो । मन्त्री महतले करका दर कुनै घरानाको स्वार्थ पूरा गर्न लक्षित नरहेको स्पष्टीकरण दिए ।
मन्त्री महतले विद्युतीय गाडीको अव्यवहारिक भन्सारलाई व्यवहारिक बनाउन विद्युतीय गाडीलाई ५ वर्गमा छुट्ट्याएर कर लगाएको बताए ।
प्रधानममन्त्री, पूर्व प्रधानमन्त्री र अर्थमन्त्रीका जिल्लामा चालिस प्रतिशत बजेट बिनियोजन नभएको जिकिर उनको थियो । त्यस्तै,अर्थमन्त्री डा.महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको पनि उल्लेख गरे । विभिन्न आयोजनामा छर्ने प्रवृत्ति आफुले रोक्न नसकेको उनको स्वीकारोक्ति छ ।