झापाको बिर्तामोड २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले बिर्तामोडका अभिभावक विहीन ३ जना बालबालिकाको संरक्षण गर्ने भएको छ ।
बिर्तामोड –४ सुर्योदय टोलका निर्दिका दाहाल, निर्बिका दाहाल र दुर्गेस दाहालको सम्पूर्ण जिम्मेवारी सहारा नेपालले लिने घोषणा गरेको हो ।
संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले अभिभावक विहीन ३ जना बालबालिकाको सम्पूर्ण जिम्मेवारी संस्थाले बहन गर्ने निर्णय भएको जनाएका छन् । उनले आज सामाजिक सञ्जाल मार्फत पनि सो कुराको जानकारी दिएका छन् ।
आमाको दमका निधन भएको र बुबा सुधार गृहमा रहेका कारण तीन जना नावालक कष्टकर जीवन बिताउदै आएका थिए । आमाको निधनपछि अभिभावक विहीन भएका उनीहरुको युटुवर भाग्य न्यौपानेले दैनिकी जीवन बारे भिडियो सामग्री प्रसारण गरेका थिए । सो भिडियो प्रसारण पश्चात देश बेदेशमा रहेका नेपालीहरुले उनीहरुको बारेमा चासो राखेका थिए ।
त्यस्तै सो भिडियो प्रसारण भए पश्चात सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरी, निर्देशक लक्ष्मण खतिवडा सहितको टोली बालबालिकाको अवस्था बुझ्न उनीहरुको घर पुगेको थियो ।
उनले त्यहींबाट उनीहरुले भागेको कारुणिक अवस्था देखेपछि उनीहरुको संरक्षण गर्ने घोषणा गरेका थिए ।
तर आज संस्थाको कार्यालय चारपानेमा भाग्य न्यौपानेसंग भएको छलफलमा सहारा नेपालले तीन जनाको संरक्षणका लागि स्थानीय तह र सरोकारवालासँगको समन्वयमा कानुनी प्रावधान पुरा गर्ने जनाएको छ ।
सहाराले तीनैजनाको उच्च शिक्षासम्म अध्ययनमा सहयोग गर्ने, बसिरहेको घरको पुनःनिर्माण गर्ने, घरमा चाहिने आधारभुत आवश्यक सामग्रीहरुको व्यवस्थापन मिलाउने, सानो छोरा र बुबाको उपचारमा सहयोग गर्ने, नानीहरुको संरक्षणको लागि रेखदेखको व्यवस्था मिलाउने, अध्ययन पश्चात इच्छुक भएमा १ जनालाई योग्यता अनुसारको रोजगारीको व्यवस्था गर्ने लगायतका सेवा प्रवाह गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।
ठुली छोरीले आमाको निधनपछि भारतीय बजार पानीट्याङ्की गएर भाईबहिनीको रेखदेख संगै खर्च धान्दै आएको भिडियोमा बताएकी थिइन् ।
उक्त भिडियामा निर्दिकाले आमाको दम रोगका कारण मृत्यू भएको बताएकी थिइन् । भिडियो प्रसारण भए पश्चात धेरैले आर्थिक सहयोग समेत गरेका छन् ।
युटुवर भाग्य न्यौपानेका अनुसार उनीहरुको सहयोगका लागि एक्सेल बैंकमा खोलिएको खातामा ६ लाखभन्दा बढी रकम संकलन भइसकेको छ । स्थानीय सुनिल न्यौपाने लगायत युवाहरुको पहलमा न्यौपानेले नावालकहरुको भिडियो निर्माण गरेका थिए ।