झापा अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रमा व्यावसायिक  पशुपालन गरिरहेका उत्कृष्ट किसानलाई नगद सहित पुरस्कृत गरिएको छ । 

नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले आज बिहीबार उत्कृष्ट किसानलाई नगद पुरस्कार प्रदान गरेको हो । लामो समयदेखि पशुपालन क्षेत्रमा लागेर आफ्नो आर्थिकस्तर बृद्धि गर्दै उदाहरणीय किसान बनेका विभिन्न व्यवसायका ६ जना र एउटा कृषक समूहलाई पुरस्कृत गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख पदमलाल राईले जानकारी दिए । 

गाईपालनतर्फ पहिलो बनेका अर्जुनधारा ६ मा रहेको कन्काई कृषि फर्मका सञ्चालक सुबोध गौतमलाई नगद १२ हजारसहित पुरस्कृत गरियो । 

यस्तै, दोस्रो बनेका अर्जुनधारा ९ मा रहेको कृष्ण गाईपालन फर्मका सञ्चालक चन्द्रप्रसाद अधिकारीलाई नगद १० हजारले पुरस्कृत गरिएको छ । 

nnnna

यसैगरी, बाख्रापालनतर्फ अर्जुनधारा ९ मा रहेको आरके कृषि फर्मका सञ्चालक कमल कडरियाले नगद १२ हजार पुरस्कार पाए । यस्तै, दोस्रो भएको जुकेखाडी कृषि फर्म अर्जुनधारा ३ की सञ्चालक मनकला राईले नगद १० हजार पुरस्कारवापत पाइन् । 

बंगुरतर्फ अर्जुनधारा ३ का आइतबहादुर लिङदेनले उत्कृष्ट व्यवसायी बन्दै नगद १२ हजार पाउन सफल भए । यसैगरी, माछापालनतर्फ अर्जुनधारा ४ का विकास खड्का उत्कृष्ट घोषित भए । उनले पनि नगद १२ हजार पुरस्कार पाए । 

यस्तै, समूहतर्फ अर्जुनधारा २ मा रहेको खुदुनाबारी कृषक समूहले उत्कृष्ट समूह बन्दै नगद १२ हजार पाएको छ । नगद समूहका उपाध्यक्ष तुलसी ढकाललाई प्रदान गरियो । 

यो समूह नगरपालिकाले दुग्ध पकेट क्षेत्र घोषणा गरेपछि पहिलो समूह बनेको थियो । यसैगरी, दुग्ध क्षेत्रबाटै व्यावसायिकरुपमा अघि बढ्नका लागि प्रेरक व्यक्तित्वका दरिएका समूहका संस्थापक तिलकबहादुर थापालाई विशेष सम्मान प्रदान गरिएको थियो । 

सूचीकृत भएका फर्म, समूहको अनुगमनपछि पुरस्कृत गरिएको नगर उपप्रमुख खड्गमाया पराजुलीले बताइन् । 

उनले सबै किसानले मिहेनत गरेर कृषि कर्ममा लागेको बताउँदै सबैलाई पुरस्कार दिन मन भए पनि वर्षभरिको मूल्यांकनको आधारमा यसवर्ष पुरस्कार तथा सम्मानको कार्यक्रम राखिएको सुनाइन् । 

आर्थिक विकास समितिकी संयोजक गौरीमाया चिमरियाले स्वागत गरेको कार्यक्रमको प्रमुख अतिथि पूर्वप्रदेश सांसद बृख प्रधान थिए । 

कार्यक्रममा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, ७ नम्बर वडाध्यक्ष गोविन्द खतिवडा, महिला उद्यमी देवकला प्रसाई, पार्टी प्रतिनिधिहरु इन्दिवर खड्का, दिपेन्द्र लम्साल, अर्जुन मेचे, पूर्वजनप्रतिनिधि भोला गौतमलगायतले आफ्ना भनाइ राखेका थिए ।