अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल ‘राजु मास्टर’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । पक्राउ पर्नेमा कलाकार पौडेल र श्रेष्ठसहित पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन् ।

युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखिएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरुले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको बताएको छ । प्रहरीले पक्राउ परेका सबैलाई आज सरकारी वकीलको कार्यालयमा म्याद थपका लागि उपस्थित गराएको छ ।

नेपालको मुलुकी अपराध संहितामा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । त्यस्तै पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको सजायको व्यवस्था छ ।

त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।