सहकारीमा बचत गरेको लाखौं रुपैया लिएर सञ्चालक फरार हुन थालेपछि सर्वासाधारण न्याय माग्न काठमाडौं आएर आन्दोलन गर्न थालेका छन । देशभरका सहकारीमा समस्या देखिएपछि आफ्नो बचत रकम फिर्ताको माग गर्दै पीडितहरुले काठमाडौ माइतीघर मण्डलामा दुई हप्ता देखि आन्दोलन गरिरहेका हुन ।
देशको अर्थतन्त्रको तेस्रो खम्बा भनेर प्रचार गरिएको सहकारी संघसंस्था एकपछि अर्को हजारौं बचत कर्ताले जम्मा गरेको करोडौं रकम झ्वाम पारेर फरार भएपछि सहकारीका पिडित बचत कर्ताहरू आफ्नो जम्मा गरेको रकम फिर्ता गराउन माग गर्दै काठमाडौ माइतीघर मण्डलामा आन्दोलनमा छन् ।
स्थानीय तहका जनप्रतिनिधि अध्यक्ष भएको सहकारी संस्थाले जनताको बचत गरेको रकम हिनामिना गरेर मनपरि गरेको कारण आफुहरू आन्दोलनमा आउन बाध्य भएको बाग्लुङ ढोरपाटनका सहकारी पिडित बताउछन ।
जनताहरूले थोरै थोरै जम्मा गरेको पैसा सहकारीका संचालकले हिनामिना गरेर जनतालाई पीडा दिएको यो ठूलो ज्यादती भएको हुदा यसलाई तत्काल सरकारले हेर्नुपर्ने काठमाडौ महानगरका पूर्व प्रमुख हरिबोल भट्टराईको भनाइ छ ।
आफुहरूले अरू केही पनि माग्नको लागि माइतीघर मण्डलामा धर्ना बस्न नआएको सहकारीमा जम्मा गरेको बचत रकम फिर्ताको लागि आएको पीडितको भनाइ छ । न्याय नपाएमा थप आन्दोलन गर्ने चेतावनी पीडितहरुले दिएका छन ।
सहकारी पिडित संघर्ष समितिले असार ३ गते आइतबार राजधानी केन्द्रीत बृहत् आन्दोलन गरेर सरकारलाई दवाब दिने कार्यक्रम बनाएका छन । माइतीघर मण्डलामा दुई हप्ता देखि देशका करिब ३ दर्जन सहकारी पिडितहरू आफ्नो माग पूरा गराउन हरेक दिन आन्दोलन गरिरहेका छन् ।
दुई हप्ता बितिसक्दा समेत सरकार र सहकारी हेर्ने निकायले अहिलेसम्म यसलाई कुनै चासो देखाएको देखिदैन । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बाग्लुङ ढोरपाटनका नगर प्रमुख समेत रहेका देवकुमार नेपाली, ओसिन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् किस्पाङ गाउँ पालिका नुवाकोटका अध्यक्ष वीर बहादुर तामाङले संचालन गरेको सहकारीको हालत यस्तो छ भने अरू सहकारीको हालत कस्तो होला आफै अनुमान लगाउन गा¥हो नपर्ला ।।