प्रधानमन्त्री पुष्पकमल दाहालले जनजातिलाई फुटाएर देशलाई कुनै हित नहुने भन्दै तथ्यांकमा भएको कमजोरी सच्याउन सरकार तयार रहेको बताएका छन् ।

शुक्रवार नेपाल मगर संघले भूमे÷भूम्या पर्वको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय जनगणना २०७८ मा पुन मगरलाई छुट्टै जातिको रुपमा राखेर त्रुटी गरिएको कुरालाई सच्याउने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले जातीहरुलाई फुटाएर देशको हीत नहुने पनि स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री दाहालले मगर समुदायले राजनीतिक परिवर्तनमा खेलेको भुमिकालाई सम्मान गर्दै आफूले मगर समुदायका नेताहरुलाई उपराष्ट्रपति, सभामुख, रक्षामन्त्री,अर्थमन्त्री, राष्ट्रिय सभा सदस्य लगायतमा अघि सारेको पनि बताए ।

कार्यक्रममा उपसभामुख इन्दिरा रानाले मगर समुदायलाई जातिय स्वार्थभन्दा माथि उठ्न आग्रह गरिन् । उनले जात, परिवार र भुगोलको नाममा विभाजित हुनु नहुने भन्दै एक भएर अगाडी बढ्नुपर्ने बताइन् ।

उपसभामुख रानाले मानविय स्वार्थका कारण प्रकृतिलाई असर पार्नु नहुने भन्दै प्रकृतिको रक्षा गर्नुपर्नेमा जोड दिइन् ।।