बिर्तामोड(प्रेस चौतारीले नेपाल पत्रकार महासंघ झापाको बिर्तामोडस्थित कार्यालयमा शुक्रवार पनि धर्ना दिएको छ । सदस्य शुद्धीकरणका लागि तय भएको १५ बूँदे मापदण्डको आफूखुशी व्याख्या गरेको जनाउँदै प्रेस चौतारीले महासंघको कार्यालयमा धर्ना दिएको हो ।
यसअघि बिहीवार पनि प्रेस चौतारीले महासंघको कार्यालयमा धर्ना दिएको थियो । धर्नासँगै चौतारीले महासंघको कार्यालयमा कालो झण्डा पनि राखेको छ ।
सदस्य शुद्धीकरणका लागि तय गरिएको मापदण्ड पालना नगरी आग्रह पूर्वाग्रहका आधारमा पत्रकार महासंघ झापाले आफूखुशी पत्रकारको सदस्यता खोस्न लागेको प्रेस चौतारीको निष्कर्ष छ ।
प्रेस चौतारीका केन्द्रीय सदस्य सन्तोष आचार्यले राजनीतिक आग्रहका आधारमा सदस्यता खोस्नु भन्दा पनि मापदण्डले छुने सबै आस्था र विचारका पत्रकारलाई ससम्मान महासंघले बिदाई गर्नु पर्ने बताए ।
‘शुद्धीकरण मापदण्डले यो वा त्यो आस्था र विचार भन्दैन’, केन्द्रीय सदस्य आचार्यले भने, ‘जसका हकमा जुन बूँदा आकर्षित हुन्छ, उसलाई ससम्मान बिदाई गरिनुपर्छ ।’
सदस्यता खोसिएको भन्दै महासंघले आफ्नै सदस्यहरुको अपमान गरेको आचार्यको धारणा छ । सदस्यता शुद्धीकरण अभियानलाई विवादरहित बनाउनेतर्फ पत्रकार महासंघ झापाले ध्यान नदिएको प्रेस चौतारीका कोसी प्रदेश अध्यक्ष अविजाल विष्टले बताए ।
शुक्रवारको धर्नामा प्रदेश कमिटीको तर्फबाट अध्यक्ष विष्ट स्वयम उपस्थित भएका छन् । यसअघि महासंघका उपाध्यक्ष केशव भट्टराई नेतृत्वको कार्यदलले शुद्धीकरण मापदण्डलाई आफूखुशी व्याख्या गर्दै समान प्रकृतिका सदस्य हटाउने नाममा विभेदकारी नीति अवलम्वन गरेको थियो ।
भट्टराई नेतृत्वको कार्यदलले गरेको सिफारिसलाई महासंघ झापाले निर्णय प्रक्रियामा लगेपछि विवाद उत्पन्न भएको हो । यसप्रति प्रेस चौतारीले औपचारिक रुपमा विज्ञप्ति निकालेर आपत्ति जनाइसकेको छ । महासंघले ६७ जना सदस्यलाई अयोग्य भन्दै प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
शुद्धीकरण अभियानमा आफ्नो प्रतिवद्धता दोहोर्याउँदै प्रेस चौतारीले छलफल र वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न महासंघलाई आइतवार १२ बजे सम्मको अल्टिेमटम दिइएको जनाएको छ ।