झापा । सशस्त्र प्रहरीका इन्स्पेक्टर नमप्रभाव राईसहितको टोलीले आफ्नै सहकर्मीमाथि निर्घात कुटपिट गर्ने घटनाको स्थलगत छानबिनका लागि एआइजी चन्द्रप्रकाश गौतमको नेतृत्वको छानबिन टोली झापा आएका छन् । 

सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले खटाएका एआइजी गौतम नेतृत्वको तीन सदस्य छानबिन समिति र सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह वाहिनी सुनसरीले खटाएका एसपी विक्रम हुमागाईँको नेतृत्वको तीन सदस्य छानबिन समिति अहिले झापामा छन् । दुवै छानबिन समिति सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापामा रहेको बताइएको छ । 

छानबिन समितिले गणभित्रै कुटपिट घटनामा संलग्न इन्स्पेक्टर नमप्रभाव राई, सशस्त्र जवानहरु रामसुन्दर तामाङ र जीवन बास्तोलासँग बयान लिने काम भइरहेको छ । उनीहरुलाई बराह वाहिनी सुनसरीबाट झापा झिकाएर बयान लिने काम भइरहेको जनाइएको छ । 

बयान सकिए पश्चात दुवै छानबिन समिति मेचीनगर नगरपालिका– ५ स्थित नकलबन्दा घटनास्थल जाने बताइएको छ ।  सशस्त्र हवलदार र जवानमाथि कुटपिट गर्ने इन्स्पेक्टर राई, सशस्त्र जवानहरु तामाङ र बास्तोलालाई मुख्यालयले शुक्रबार नै निलम्बन गरिसकेको छ ।  

जेठ २३ गते मङ्गलवार राती करिब साढे १० बजेको समयमा मेचीनगर नगरपालिका– ५ स्थित नकलबन्दामा सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह वाहिनी सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलाले भारततर्फ गाई गोरु कटाएको निहुँमा ड्युटीमा खटिएका सशस्त्रका वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेश बहादुर तामाङ, रामबहादुर कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीलाई मेची नदीको पानीमा चोबल्दै, खेदाउँदै भाटैभाटाले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकाहरू सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत थिए । 

सादा पोशाकमा आएका इन्स्पेक्टर राईसहितको टोलीले बर्दीधारी सशस्त्रलाई सार्वजनिक स्थलमा कुटपिट गरिरहेको देखेपछि त्यहाँका स्थानीय प्रतिकारमा उत्रिए । स्थानीयले कुटपिटमा संलग्न इन्स्पेक्टर राईसहितको टोलीमाथि नै खनिएका थिए । त्यसपछि घटनास्थल बिहान ३ बजेसम्म तनावग्रस्त बनेको थियो ।