शनिश्चरे । संरक्षणको अभावमा लोप हुँदै गएको कछुवाको संरक्षण विषयक एकदिने अन्तरक्रिया झापाको अर्जुनधारामा सम्पन्न भएको छ । अर्जुनधारा नगर पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा कछुवा संरक्षणसम्बन्धी शनिबार अन्तरक्रिया गरिएको हो ।
अर्जुनधारा ९ स्थित सुखानी शहीद स्मृति उद्यानको सभाहलमा नगरकी उपप्रमुख एवम् कार्यक्रमकी अध्यक्ष खड्गमाया पराजुलीले कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
आयोजक शाखाका प्रमुख पदमलाल राईले कछुवा संरक्षणका लागि स्थानीयस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले कछुवा पनि मानव जीवनका लागि आवश्यक प्राणी हो भन्ने हेतुले यसको संरक्षण अरुले नभइ स्थानीयस्तरबाटै हुने जानकारी दिन पनि कार्यक्रम आयोजना गरिएको बताए ।
उनका अनुसार वातावरण सन्तुलन कायम राख्न पनि कछुवाको संरक्षण जरूरी छ । कार्यक्रममा कछुवाको परिचय, कछुवा संरक्षण गर्नुपर्ने आवश्यकता र महत्व, आर्को नेपालको स्थापना, कछुवा उद्धार तथा संरक्षण केन्द्रको स्थापना र गतिविधिलगायतका विषयमा कछुवा उद्धार तथा संरक्षण केन्द्रका संयोजक तपिलप्रकाश राईले सहजिकरण गरेका थिए ।
स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूह सहआयोजक र कछुवा उद्धार तथा संरक्षण केन्द्रको प्राविधिक सहयोग रहेको कार्यक्रममा नगर कार्यपालिकाकी सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीयाले स्वागत गरेकी थिइन् ।
जनप्रतिनिधि, उद्यानका पदाधिकारी तथा सदस्य र समूहका उपाभोक्तासहित ११० जनाको सहभागिता रहेको कार्यक्रममा नगर कार्यपालिका सदस्य एवम् प्रवक्ता भूपेन्द्र न्यौपाने, उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंक बराल, व्यवस्थापक रुद्रमणि सुवेदीलगायतले कछुवा संरक्षणको विषयमा आफ्ना धारणा राखेका थिए ।