नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असार १६ गतेदेखि देशभर गिट्टी वालुवा उत्पादन कार्य बन्द गर्ने चेतावनी दिएको छ ।

महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १६ गतेदेखि देशभर गिट्टी वालुवा उत्पादन कार्य वन्द गर्ने निर्णय भएको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताए ।  असार पन्ध्र गतेसम्म अनिर्वाय इजाजत नविकरण गर्नुपर्ने सरकारको निर्णय खारेज गर्नुपर्ने माग महासंघको छ ।

सरकारले कानून बमोजिम दर्ता भई ईजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरु असार १५ गतेभित्र नविकरण गर्न निर्देशन दिएपछि क्रसर व्यवसायी आन्दोलित भएका हुन ।

विगत १० वर्षदेखि क्रसरका समस्या समाधानको लागि पहल गरे पनि अहिलेसम्म नभएको गुनासो व्यवसायीको छ । अवैध क्रसर उद्योग बन्द गर्ने नाममा कानून बमोजिम सञ्चालनमा आएका उद्योगहरु समेत बन्द गरेको गुनासो सञ्चालकको छ ।