सन्तोष न्यौपाने÷झापा
सरकारले बजेटमार्फत लगाइएको भ्याटका कारण आलु, प्याज महँगो भई उपभोक्ता मारमा परेको भन्दै झापाका थोक व्यवसायीले मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गरेका छन् ।
बजेट भाषणपछि आलु प्याजको भाऊ बढ्दा देशभर सर्वसाधारणको भान्छा महँगिएको छ भने सीमा नाकाहरुबाट हुने आलु प्याज आयातमा पनि कमी आएको छ ।
आलुु र प्याजमा बजेटमार्फत लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका हुन् । भ्याटका कारण आलु, प्याज महँगो भई उपभोक्ता मारमा परेको भन्दै बुधबारे हटिया कृषि थोकका थोक व्यवसायी रजक शाहले कर खारेज हुनु पर्ने बताए ।
स्थायी लेखा नम्बर प्यानको आधारमा हुँदै आएको कारोबारलाई भ्याटमा लगिएपछि समस्या भएको व्यापारीको गुनासो छ । आन्तरिक उत्पादन पर्याप्त बनाउन पहल नै नगरी दैनिक उपभोग्य वस्तु आलु प्याजमै १३ प्रतिशत भ्याट लगाउनु असान्दर्भिक भएको अर्का व्यवसायी धनपती पराजुलीको तर्क छ ।
बजेट सार्वजनिक भएको भोलिपल्टै अर्थात जेठ १६ गतेबाटै झापाका बजारहरुमा तरकारी र फलफूलको मूल्य आकाशिएको हो । झापाको कृषि थोक बजार सहित अन्य बजारमा खपत हुने अधिकांश आलु र प्याज भारतका बिभिन्न क्षेत्रबाट भित्रिने गरेको छ । भ्याट लागू भएपछि कांकरभिट्टा नाकाबाट आलु प्याजको आयात समेत हवात्तै घटेको क्वारेन्टिन कार्यालय कांकरभिट्टाका सुचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए ।
उनका अनुसार अहिले सरदर दैनिक १ देखि २ गाडीमात्र आलु प्याज आयात भइरहेको छ । यस अघि दैनिक २० गाडी हाराहारी आलु , प्याज आयात हुंदै आएको थियो ।
बजेट अघि ३५ देखि ४० रुपैयाँ किलो रहेको प्याजको मूल्य अहिले ६० देखि ७० रुपैंयासम्म पुगेको छ । नेपाली बजारमा खपत हुने ९९ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको छ ।