सन्तोष न्यौपाने ÷झापा

झापाको अर्जुनधारा, बिर्तामोड, बुट्टाबारी लगायतका ठूला तथा साना बजार क्षेत्रमा बुट्टाबारीका गणेश ढुङ्गाना  बषौंदेखि फोहोर टिपिरहेका छन् । स्थानीय तहलाई फोहर व्यवस्थापन टाउको दुखाइको विषय बनिरहेको बेला फोहरसँग साइनो गांसेका ती युवा धैरेकालागि अहिले उदाहरणीय बनेका छन् ।

 झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बुट्टाबारी निवासी ढुंगाना  बषौंदेखि झापाको बिर्तामोड, अर्जुनधारा, बुट्टाबारी सहितका बजार क्षेत्रमा फोहोर टिपिरहेका छन् ।

संकलन गरिएको प्लाष्टिकजन्य फोहोर बिक्रीबाट आएको रकमले अनाथ तथा अशक्त बालबालिकाकालागि सहयोग गर्दै अनाथ आश्रम बनाउने उदेश्यले करीब एक दशक देखि गणेशले फोहोर संकलनलाई आफ्नो दैनिकी बनाएका छन् । आफू अनाथ भएकै कारण अनाथहरुको अभिभावक बन्ने अठोटका साथ अभियानमा होमिएको उनको भनाई छ ।

माओवादी पूर्वलडाकु समेत रहेका ढुङ्गाना माओवादी सेनाबाट बहिर्गमन भएपश्चात गाउँ समाज र्फिर्कएका थिए । सुरुका दिनमा फोहर संकलन गरेर हिँड्दा धेरैले उनलाई पागल भने ।

परिवार तथा आफन्तबाट पनि अपहेलना सहनु पर्यो । तर अहिले उनको उदेश्य सहितको काम देखेर स्थानीय खुसी छन् । सीसाका बोतल , काटुन, प्लाष्टिकका बोतल लगायतका फोहोर ढुङ्गानालाई दिन पाउंदा स्थानीय व्यापारी पनि खुसी छन् । आश्रम बनाउने उदेश्य लिएर हिंडेका ढुङ्गानाले गरेको कामको स्थानीय खुलेर प्रशंसा गर्छन् ।

अनाथ आश्रम निर्माण गर्ने लक्ष्य लिएर उनले अर्जुनधारा ११ स्थित बुट्टाबारीमा एक कठ्ठा जग्गा खरिद गर्न बैना गरिसकेका छन् । उनकै अगुवाईमा गठित स्वच्छ समाजकालागि सामाजिक अभियान मार्फत धेरै जना अभियान्तहरु पनि जोडिएका छन् । उनको यो कार्यलाई सहयोग गर्न आफु पनि अभियानमा जोडिएर सहयोग गर्दै आइरहेको सामाजिक अभियान्ता शेरबहादुर थापा बताउंछन् । 

उनले फोहोर संकलन गरेको देखेर धेरैले सोधी खोजी गर्छन । जस मध्येबाट उनको कुरा सुनेपछि केहिले सहयोग पनि गरिरहेका छन् । पवित्र उदेश्यले अनाथ बालबालिका तथा असाय दिन दुखिको सारर्थी बनेका गणेशको अभियानलाई राज्यले पनि सम्मान गर्नै पर्छ ।