दुध उत्पादक किसानलाई अनुदान रकम वितरण गरिएको छ । आज आइतबार झापाको मेचीनगर १२ स्थित रितिका डेरी उद्योगमा आयोजित एक कार्यक्रमकाबिच दुध उत्पादक किसानलाई रकम वितरण गरिएको हो । 

दुध उत्पादनमा सक्रिय साना किसानलाई लाभ पु¥याउन कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा रितिका डेरी उद्योग मार्फत अनुदान रकम वितरण गरेको हो । 

किसानले उत्पादन गर्ने दुधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस अनुदान वितरण गरेको जनाएको छ ।  

४७ लाख १८ हजारबढी रकम अनुदान स्वरुप किसानलाई वितरण गरिएको हो ।  डेरीमा दुध दिँदै आएका किसानलाई सो अनुदान वितरण गरिएको जनाइएको छ ।  

मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न अनुदान वितरण कार्यक्रममा दुग्ध उत्पादन तथा संकलन गर्ने सहकारी संस्था, चिस्यान केन्द्र, गाईफार्म तथा दुग्ध उत्पादन समुहहरुलाई एकमुष्ट अनुदान रकम वितरण गरिएको हो । 

रितिका डेरीले झापा र इलाम जिल्लाका बिभिन्न क्षेत्रका किसानले उत्पादन गरेको  ३० हजार लिटर दुध दैनिक संकलन गर्दै आएको छ ।  प्रदेश सरकारले पहिलो पटक प्रतिलिटर दुई रुपैयाँ पर्ने गरी दिएको अनुदानबाट झापा र इलामका ३६ सय बढी घरधुरीका किसान प्रत्यक्ष लाभान्वित भएका छन् । 

दुग्ध उत्पादनमा क्रियाशील किसानलाई व्यवसायी बनाउँदै थप उत्पादनका लागि प्रोत्साहन स्वरुप प्रदेश सरकारले पहिलोपटक यो कार्यक्रम ल्याएको बताएको छ ।

कार्यक्रममा किसानका तर्फबाट योगेन्द्र खनाल, बुद्धशान्ति गाउँपालिका वडा नं ७ का अध्यक्ष चन्द्र भण्डारी, मेचीनगर−११ का वडाध्यक्ष रुद्र डाँगी, १२ का वडाध्यक्ष मधुसुदन निरौला, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

रितिका डेरी उद्योगका संस्थापक अध्यक्ष घनश्याम चिमरियाको सभापतित्वमा सम्पन्न भएको थियो । रितिका डेरीका सञ्चालक राजन चिमरियाले स्वागत गरेको कार्यक्रमको सञ्चालन डेरीका व्यवस्थापक योगेन्द्र चिमरियाले गरेका थिए । 

सोही अवसरमा रितिका डेरीका सञ्चालक घनश्याम चिमरियालाई दुग्ध व्यवसायको क्षेत्रमा सहयोग गरेका भारतको पश्चिम बंगाल निवासी हरेसप्रताप सिंहलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।