नेकपा माओवादी केन्द्रसहितको चार दलले समाजवादी मोर्चाको घोषणा गरेका छन् । आज काठमाडौंको राष्ट्रिय सभामा एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो ।

घोषणा सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा प्रतिगामीहरुका लागि ठूलो चुनौती भएको बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा कसैलाई चिढाउन र तर्साउन नभएको बताए । लामो समयको कोशीसबाट मोर्चाको घोषणाा गर्न सम्भव भएको भन्दै अध्यक्ष नेपालले मोर्चामा अन्य देशभक्त र समाजवादी शक्तिलाई आउन आग्रह गरे ।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तन भएपनि शासन प्रणाली र मानसिकता भने उस्तै रहेको बताए । उनले प्रगतिशील शक्तिहरू एकताबद्ध भएर पुरानो शासन शैली र मानसिकतालाई बदलेर परिवर्तनलाई अगाडि बढाउन समाजवादी मोर्चा गठन गरिएको स्पष्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अब मुलुकको नेतृत्व समाजवादी मोर्चाले गर्ने दाबी गरे । समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको भन्दै चन्दले प्रतिगामी र पश्चगामीहरुलाई रोक्न मोर्चाबन्दी भएको बताए ।

समाजवादी मोर्चाको सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव नेत्रविक्रमले हस्ताक्षर गरेका छन ।