हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाले भारतबाट आयातित मरेका माछा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनका अनुसार कार्यपालिकाको बैठकको निर्णय बमोजिम पालिकाभित्रका हाटबजारमा यही असार १० गते देखि ”फॉर्मेलिन” विषादी औषधी प्रयोग गरी भारतबाट ल्याइएका माछा बिक्री वितरणमा रोक लगाउने निर्णय भएको छ ।
हल्दिबारीको बाचा झापा भरि माछाुु भन्ने गाउँपालिकाको नारालाई सार्थक बनाउँदै जनतालाई स्वास्थ्य, ताजा माछा प्रयोग गर्नको लागि भारतबाट ल्याइने मरेका माछाको बिक्री वितरणलाई रोक लगाउने निर्णयसहित स्थानीय प्रहरीलाई परिपत्र गरिसकेको अध्यक्ष लिङ्देनले बताए ।
यहाँका माछा किसानहरूसँग सहकार्य गरी उपभोक्ताहरूलाई ताजा माछा खुवाउने व्यवस्था मिलाउने समेत अध्यक्ष लिङ्देनले बताए । उनका अनुसार सरकारले प्रतिबन्ध गरेको मागुर माछा समेत बजारमा बिक्री वितरण भएकोले त्यसलाई समेत बेचबिखनमा रोक लगाउने बताए ।
कुनै पनि माछा व्यापारी पालिकाको निर्णयलाई अवज्ञा गरेको खण्डमा माछा जफत गरी कडा कार्यवाही गरिने जनाइएको छ ।