ओखलढुंगा :  ओखलढुंगा र उदयपुरले कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा आजबाट ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा सुरु भएको प्रतियोगितामा ओखलढुंगा र उदयपुर विजयी भएका हुन् ।

उद्घाटन खेलमा ओखलढुंगाले हिमाली जिल्ला सोलुखुम्बुलाई ३–१ गोल अन्तरले हरायो । जितसँगै उसले झापासँगको भेट पक्का गरेको छ ।

ओखलढुंगाका लागि खेलको ३४ औँ मिनेटमा प्रविन मगरले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै, खेलको ३६ औँ र ५६ औँ मिनेटमा सञ्जय गुरुङले व्यक्तिगत दुई गोल गरेका थिए ।

सोलुखुम्बुका लागि खेलको ४९ औँ मिनेटमा थिराज राईले सान्त्वाना गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच दुई गोल गर्ने ओखलढुंगाका सञ्जय राई भए । उनले नगद चार हजार रुपैयाँ र मेडल पाए ।

उनलाई कार्यक्रमका अध्यक्ष तथा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले र सिद्धिचरण नगरपालिकाका निवर्तमान नगरप्रमुख मोहनकुमार श्रेष्ठले नगद र मेडल प्रदान गरे ।

त्यस्तै, आजको दोस्रो खेलमा उदयपुरले मोरङलाई १–० गोल अन्तरले हराएको छ । मोरङले अर्को खेल संखुवासभासँग खेल्नेछ ।

उदयपुरका सुनिल खड्काले खेलको ६६ औँ मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त भयो । खेलको म्यान अफ द म्याच गोलकर्ता खड्का भए । उनलाई बोर्डका सदस्य सचिव वाग्ले र सशस्त्र प्रहरी नायव उपरीक्षक विकास भूजेलले नगद चार हजार र मेडल प्रदान गरे ।

बोर्डका सदस्य सचिव वाग्लेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिकबहादुर र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ आउने कार्यक्रम भए पनि प्रतिकूल मौसमका कारण आउन सकेनन् ।

उनीहरु आउन नसकेपछि प्रदेशसभा सदस्य प्रदिप सुनुवार, सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजेन्द्र खनाल, एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राई, बोर्डका सदस्य सचिव वाग्लेले खेलको उद्घाटन गरेका थिए ।

कार्यक्रममा वाग्लेले ओखलढुंगामा ३० वर्षपछि प्रदेशस्तरीय प्रतियोगिता आयोजना हुन सकेकोले ऐतिहासिक खेल भएको बताए । त्यस्तै, आगामी दिनमा ओखलढुंगामा खेल प्रतियोगिताहरुले निरन्तरता पाउने उनको भनाइ थियो ।

कार्यक्रममा नगरप्रमुख खनालले खेलमैदानको स्तरोन्नतिका लागि आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष राईले ओखलढुंगामा प्रक्रिया पुर्याएर चाँडै फुटबल संघ गठन गर्ने र ग्रासरुट फुटबल सञ्चालन गर्ने बताए ।

प्रदेशसभा सदस्य सुनुवार लगायत सबै वक्ताले भौगोलिक कठिनाइमा पनि प्रतियोगिता आयोजना गरेकोमा वाग्लेको प्रशंसा गरेका थिए ।

प्रतियोगितामा कोशी प्रदेशका १३ जिल्लाको सहभागिता रहेको छ । ताप्लेजुङ भने पहिरोका कारण सडक अवरुद्ध भएपछि नआउने भएको छ ।

प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ४ हजार रुपैयाँ प्रदान गरिने बोर्डले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो पाँच हजार रुपैयाँ र ट्रफी पाउने छन् ।

प्रतियोगितको फाइनल खेल असार ९ गते हुनेछ । भोलिको खेल धनकुटा र भोजपुरबीच तथा सुनसरी र पाँचथरका बीच हुनेछ ।