झापाको अर्जुनधारा नगरपालिकाले नगरका क्षेत्रका कृषकलाई कृषि औजार वितरण गरेको छ । नगरले आज शुक्रबार कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै ४४ वटा कृषक समुह मार्फत कृषकलाई कृषि औजार वितरण गरेको हो ।
नगरका कृषक समुह, कृषि सहकारी र कृषि फर्महरुलाई नगरको कृषि विकास शाखाले मकै छोडाने मेशिन ३२ थान, कुटानीपिसानी मिल ११ थान, मिनी टिलर ९ थान, ब्रसकटर १ थान, पावर डिलर १ थान र हाते धान रोप्ने मेशिन १ थान गरी जम्मा १४ लाख ७ हजार ५०० रुपैयाँको कृषि औजार वितरण गरेको कृषि प्राविधिक मिना अधिकारीले बताइन् ।
नगरको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा कृषि औजार वितरण गरिएको हो । कार्यक्रममा अर्जुनधारा नगरका नगर प्रमुख बलदेबसिंह गोम्देन तामाङ, उप–प्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, वडा नं ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीलगायतले कृषकलाई कृषि औजार हस्तान्तरण गरेका थिए ।
नगर प्रमुख गोम्देनले कृषि जन्य बस्तुको उत्पादन बढाउने र जनशक्ति लागत घटाउने हेतुले कृषकलाई कृषि सामाग्री वितरण गरिएको बताए ।
उनले नगरबाट प्राप्त कृषि औजार सहि सदुपयोग गर्दै कृषिमा परिवर्तन गर्न सबैलाई आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन कृषि शाखा प्राविधिक उर्मिला राजवंशीले गरेकी थिइन् ।