सभामुख देवराज घिमिरेले तथ्यांकका आधारमा सरकारले नीति निर्माण गर्न आवश्यक रहेको बताएका छन । आज राष्ट्रिय तथ्यांक कार्यालयले बुझाएको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा संसद भवन नयाँ बानेश्वरमा ग्रहण गर्दै सभामुख घिमिरेले राज्यका हरेक नीति तथा कार्यक्रम बनाउँदा तथ्याङ्क कार्यालयले संर्वेक्षण गरेको तथ्याङ्क उपयोगी हुने बताएका हुन ।

सभामुख घिमिरेले २०६८ भन्दा धेरै वस्तुवादी तथ्यांक आएको भन्दै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन नीति निर्माताका लागि सहयोगी हुने विश्वास समेत व्यक्त गरे ।

सभामुख घिमिरेले पछिल्लो जनगणना प्रतिवेदन तथ्याङ्क कार्यालयले जरोमा पुगेर सर्वेक्षण गरेको पाएको समेत उल्लेख गरे । हिमाल र पहाड रित्तिँदै गइ तराई वा शहरमा बसाईंसराइको असर सामाजिक र राजनीतिक दुवैतर्फ पर्ने धारणा उनको थियो ।

तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनसंख्याको आधारमा अब आउने निर्वाचनमा जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्दा पहाडमा क्षेत्र घट्ने र तराई तथा शहरमा क्षेत्र बढ्नसक्ने देखिएको समेत सभामुख घिमिरेले बताए ।२०७९ साल चैत १० गते सार्वजनिक भएको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।