झापा । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले राहत कोषमा आबद्ध भएका सदस्य परिवारलाई यो आर्थीक बर्षमा एक करोड २० लाख रुपैयाँभन्दा बढीको सुविधा प्रदान गरेको छ ।
चालू आर्थिक वर्ष २०७९÷८० को असार १४ गतेसम्ममा १ हजार १ सय ३५ जना शेयर सदस्यलाई सो रकम सेवा सुविधा बापत प्रदान गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए ।
संस्थाका शेयर सदस्यहरु राहत कोषमा पनि आवद्ध भएर योगदान गरेको खण्डमा उनीहरुलाई यस्तो सुविधा प्रदान गर्ने नीतिगत व्यवस्था रहेको पनि उनले बताए ।
सदस्यहरुले विभिन्न रोगको उपचार गराउँदा भएको खर्चको बील भपाईको आधारमा संस्थाको नियमानुसार राहत सुविधा प्रदान गरिँदै आएको पनि उनले बताए ।
संस्थाले हालसालैदेखि झापाका विभिन्न अस्पतालहरुसँग सहकार्य गरी संस्थाका सदस्यहरुको उपचार खर्चमा केही छुटको समेत ब्यवस्था गरेको छ । संस्थाका अध्यक्ष सुवास भट्टराईका अनुसार बिर्तामोडको मनमोहन सामुदायिक अस्पताल , कनकाई हस्पिटल , भद्रपुरको ओमसाई पाथीभरा हस्पिटल र दमक अस्पतालसँग सम्झौता गरी सदस्यहरुको उपचारमा छुट सुविधाको ब्यवस्था गरिएको हो ।
३१ करोड ४३ लाख ४० हजार सेयर पुँजी रहेको संस्थामा एक अर्ब ३७ करोड ५७ लाख ३५ हजार निक्षेप संकलन हुँदा १५ हजार ८७१ जना सदस्यमाझ दुई अर्ब ५१ करोड ८३ लाख ५८ हजार कर्जा लगानी भएको संस्थाले जनाएको छ ।
झापा, इलाम, पाँचथर र मोरङ गरी ४ जिल्लामा ४९ वटा सेवा केन्द्रहरु रहेका छन् । संस्थामा हाल सम्म ५८ हजार ९ सय १५ जना शेयर सदस्यहरु छन् ।