झापा जिल्लाको  हल्दिबारी गाउँपालिका–२ गंगा बस्तीका ३५ वर्षीय युवा सुशील तामाङको यतिबेला क्यान्सर रोगको उपचारकालागि आर्थिक अभाव भएको छ । 

 आर्थिक अभावका कारण अहिले उनी उपचारबाट बञ्चित बनेका छन् ।  रोजगारीका लागि विगत पाँचदेखि भारतको गुजरातस्थित एक होटलमा काम गर्दै आएका उनी क्यान्सर रोग लागेको पत्ता लागेपछि स्वदेश फर्किएका हुन् । उनी एक बर्षदेखि छातीको क्यानसर बाट थलिएका छन् । 

नेपाल फर्किएर पुनः झापाको बिर्तामोडस्थित पूर्वाञ्चल  क्यान्सर अस्पतालमा परीक्षण गर्दा यहाँका चिकित्सकले समेत क्यान्सर नै रहेको बताएको सुशीलकी आमा सावित्री तामाङले बताइन् । अहिले सम्म उनको उपचारमा अहिले सम्म १२ लाख बढी सकिएको उनले बताइन् । बुढेसकालको एक मात्र सन्तान थलिएपछि तामाङ परिवार अहिले समस्यामा छ । तामाङ परिवारको सम्पत्तिको नाममा १० धुर जग्गामा बनेको दुई कोठे टिन र चित्राले बारेको घर रहेको छ । दैनिक मजदुरी गरेर गुजारा चलाउंदै आएका तामाङ परिवारले छोरो बचाइदिन शनिबार आयोजित पत्रकार सम्मेलनमा अनुरोध गरेको छ । 

क्यान्सर निको हुने अवस्थामा रहे पनि आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुने अवस्था सिर्जना भएपछि झापाको बिर्तामोड–४ स्थित गंगामाया नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाले सुशीलको उपचारका लागि आर्थिक सहयोग संकलनको अभियान शुरु गरेको छ ।

संस्थाका अध्यक्ष भूपाल बस्नेतले केही गर्न सक्ने युवालाई आर्थिक अभावकै कारण मृत्युको मुख जान दिन नहुने बताउंदै अभियानको थालनी गरिएको बताए । उनले विपन्न नागरिकका लागि सरकारले रू १० लाखसम्मको स्वास्थ्य बिमा गर्नुपर्ने माग समेत गरेका छन् । 

हल्दिबारी गाउँपालिका–२ का वडाध्यक्ष शुकलाल राजवंशीले वडा र गाउँपालिकाबाट क्यान्सरपीडित युवा सुशीलको उपचारका लागि सहयोग गरिएको बताए । तर उनको उपचारमा धेरै रकम लाग्ने भएका कारण सबैले सकेको सहयोग गर्नु पर्ने बताए ।  गाउँपालिकाबाट प्राप्त सहयोग पर्याप्त नभएकाले सबैको सहयोग जरुरी रहेको उनको भनाई छ । 

सुशील तामाङलाई आर्थिक सहयोग गर्न चाहने सहयोगी मनहरुले उनको आमा सावित्रीको सिटिजन बैंकको हल्दिबारी शाखाको खाता नं. ०६३०१००००४४१५०४१ मा रकम जम्मा गर्न सक्ने तथा  मोबाइल नम्बर ९८१३५५९९४७ मा सम्पर्क गरेर सहयोग गर्न सकिने अभियान्ता भुपाल बस्नेतले बताए ।