काठमाण्डौ – सुनसरीको इटहरी चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा छोरीको ज्यान गएको छ । हिजो दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–८ गैसारका ४२ वर्षीया सरिता चौधरी र उहाँकी छोरी २२ वर्षीया अनुशा अंशु घाइते हुनुभएको थियो । 

गम्भीर घाइते आमा छोरीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा ज्यान गएको इलाका प्रहरीले कार्यालय इटहरीले जनाएको छ । कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

घटनापछि स्थानीय बासिन्दाले टिपरमा तोडफोड गरेका थिए भने नाराबाजीसहित प्रदर्शन गरेका थिए । टिपर चालक सर्लाहीको हरिवनका बलबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । 

इटहरीको कोशी सेन्ट जेम्स कलेजमा बीबीएस प्रथम बर्षमा अध्यायनरत अंशु र उहाँकी आमाको ज्यान गएपछि विद्यालयले आज शोक विदा दिएको छ । इटहरीका मेयर हेमकर्ण पौडेलले घटनाको छानबिन समिति बनाएर आवश्यक कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।