सन्तोष न्यौपाने÷झापा 

डिभिजन वन कार्यालय झापामा २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन (काठ) थन्किएको १७ बर्ष बढि भएको छ । झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको रक्तचन्दन अहिलेसम्म पनि बन्द कोठामा राखिएको छ । 

झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको रक्तचन्दन अहिलेसम्म कार्यालयको भुइँतलाको साविक मुद्दा र प्रशासन फाँट रहेको कोठामा सिलबन्दी गरी ताल्चा लगाएर थुपारिएको छ । 

ओसारपसार र बिक्रीमा विश्वव्यापी प्रतिबन्ध भएका कारण रक्तचन्दनलाई लिलाम (बिक्री) गर्न नमिलेका कारण कार्यालयमै थन्काइएको डिभिजन वन कार्यालय झापाको सुचना अधिकारी अन्जना पुरी बताउंछिन् ।  

अन्तर्राष्ट्रिय सन्धिबमोजिम रक्तचन्दन जुन मुलुकबाट आएको हो, उसैलाई फिर्ता पठाउनुपर्ने भएका कारण अहिले सम्म रक्तचन्दन थन्किएको उनको भनाई छ ।    

विश्व बजारमा उच्च मूल्य भएको रक्तचन्दन दक्षिण भारतको जङ्गलबाट तस्करी भएर नेपाल आएको हो । तस्करले अवैधरूपमा नेपालको बाटो भएर रक्तचन्दनलाई चीन पुर्याउने गर्दथे । विसं २०६३ र ०६४ सालमा दक्षिण झापाको तत्कालीन टाघनडुब्बाट उक्त रक्तचन्दन बरामद गरिएको थियो ।  

त्यसबेला पक्राउ परेका छ जना अभियुक्त अदालतको आदेशबमोजिम कैद भुक्तान गरी जेलबाट मुक्त भइसकेका छन् ।