सन्तोष न्यौपाने÷झापा
जिल्ला प्रहरी कार्यालय झापाले आपराधिक घटनाका फरार प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २ सय २० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विभिन्न किसिमका अपराध गरेर फरार रहँदै आएका अभियुक्त तथा अदालतबाट सजाय पाएर फरार रहँदै आएका प्रतिवादीहरूलाई धमाधम पक्राउ गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मीले बताए ।
चालु आर्थिक वर्षको असार १९ गते सम्ममा २ सय २० जनालाई पक्राउ गरिएको उनले जनाएका छन् ।
पक्राउ परेका प्रतिवादीलाई अदालतको आदेशानुसार कतिपयलाई जरिवना लिएर छाडिदिएको छ भने कतिपयलाई कैद भुक्तानका लागि जिल्ला कारागार झापामा पठाइएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७९÷८० को पुस महिनादेखि जिल्ला प्रहरीको कमाण्ड सम्हाल्न आइपुगेका एसपी दुर्गाराज रेग्मीले जेठ सम्ममा १ सय ८७ फरार प्रतिवादीलाई पक्राउ गरिएको बताए । अभियान चलाइएपछि पुषदेखि फरार अभियुक्त र प्रतिवादीको पक्राउ संख्यामा वृद्धि भएको प्रहरीले जनाएको छ ।
चोरी ,लागुऔषध, कीर्तेजालसाजी, वनसम्बन्धी मुद्दा, सवारी ज्यान मुद्दा, जबर्जस्ती करणी उद्योग, जुवासम्बन्धी कसुर, ठगी, बालयौन दुरुपयोग, विदेशी विनिमय, सम्बन्धविच्छेद, लेनदेन, बहुविवाह, लगायतमा संमलग्नलाई प्रहरीले धमाधम पक्राउ गरेको हो ।
हाल फौजदारी र देवानी मुद्दामा दोषी ठहर भइसकेका अपराधीलाई दैनिकजसो पक्राउ परिरहेका छन् । हाल सम्म पक्राउ परेकाबाट १ सय ४३ बर्ष ९ महिना १३ दिन कैद असुल र १ करोड ७७ हजार ४ सय ४५ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
झापा जिल्ला भारतसंग १ सय ४४ किलोमिटर खुल्ला सीमा क्षेत्र छ ।
नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने, आपराधिक क्रियाकलापउपर कानूनी कारवाही गर्ने, खुला सीमानाकाबाट हुने सीमा अपराध चोरी निकासी तथा पैठारी नियन्त्रण, अपराध अनुसन्धानमा उच्चतम प्रविधिको प्रयोग गरी प्रमाणमुखी अनुसन्धानमा जोड दिंदै आएको झापा प्रहरीले जनाएको छ ।