सन्तोष न्यौपाने÷झापा 

डिभिजन वन कार्यालय झापामा लाखौं मूल्यका सवारीसाधन लामो समयदेखि कार्यालय परिसरमा थन्किएका छन् । कार्यालयले विभिन्न समयमा बरामद गरेका ती सवारी बेलामा लिलामी गर्न नसक्दा त्यसै कवाडी भएका हुन । खासगरी काठ तस्करीमा प्रयोग भएका सवारीहरू लामो समयदेखि कार्यालयमा थन्किएका हुन ।

डिभिजन वन कार्यालयले थन्किएका गाडी समयमै लिलाम–बिक्री नगरिँदा कामै नलाग्ने अवस्थामा पुगेका हुन  ट्रक, पिकअप, ट्र्याक्टरलगायत गाडी वन कार्यालय परिसरमै झारजंगलले ढाकेको छ । 

डिभिजन वन कार्यालय झापामा  र सबडिभिजन वन कार्यालय सुरुंगामा गाडी, मोटरसाइकल, पिकअप, टयाक्टर, साइकल लगायतका साधन वर्षौंदेखि कार्यालय परिसरमै थन्किएका छन् ।  

झन्झटिलो प्रक्रियाका कारण हालसम्म यी सवारीको लिलाम बिक्री गर्न नसकिएको वन कार्यालयका सुचना अधिकारी अन्जना पुरीले बताइन् । 

कार्यालयले काठ चोरी, तस्करी तथा अवैध निकासीमा प्रयोग गरिएका विभिन्न समयमा नियन्त्रणमा लिएको सवारीका साधन विगत ५  वर्ष अघिदेखि लिलाम विक्री हुन सकेको छैन । 

जसका कारण सरकारले उक्त सवारी साधानबापत प्राप्त गर्ने लाखौं राजस्व समेत गुमाएको छ ।  कतीपय गाडीका पार्टपुर्जा खिया लाग्न थालेको छ भने  कतिपयको पार्टपुर्जा चोरिएको छ ।