झापा : साताव्यापी रुपमा संचालन गरिएको ट्राफिक सप्ताह २०८० झापामा समिक्षात्मक अन्र्तक्रिया सहित सोमबार सम्पन्न भएको छ ।
सातदिनसम्म निरन्तर सडक सुरक्षा सम्बन्धी गतिबिधि सञ्चालनपछि ट्राफिक प्रहरीले सप्ताहव्यापी अभियानको औपचारिक समापन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रविण जोशी ज्ञवालीले जानकारी दिए ।
दुर्घटना न्यूनीकरणका लागि ‘‘ट्राफिक नियमको पालना गरौँ, सवारी दुर्घटना हुनबाट आफु पनि बचौँ र अरूलाई पनि बचाऔँ‘ भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी पोष्टले साता ब्यापी बिभिन्न कार्यक्रम गरेको पनि उनले बताए ।
सप्ताहको अन्तिम दिन साताव्यापी कार्यक्रममा सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा संघ संस्थालाई प्रहरीले धन्यवाद समेत ज्ञापन गरेको थियो ।
पछिल्लो समय बढ्दो सवारी चाँप संगै पार्किङ व्यवस्थापन मुख्य चुनौती रहेको बताउदै ट्राफिक व्यवस्थापन गरेर बिर्तामोड नगरलाई सभ्य बनाउने तयारीमा सबै जुट्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईले बताए ।
संक्षिप्त समापन कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख ज्ञवालीले साप्ताहिक रुपमा गरेका गतिविधी बारे जानकारी गराएका थिए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा असार १९ गतेबाट ट्राफिक सप्ताहको शुभारम्भ भएको थियो । कार्यक्रमको एक समारोहकाबिच झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले उद्धघाटन गरेका थिए ।
कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक जिवन कार्कीले गरेका थिए ।