झापामा भारतीयलाई नेपाली नागरिकता बनाइदिन्छु भन्दै रकम असुल्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । झापा प्रहरीले भारतको विहार राज्य दरभंगा जिल्ला अलिनगर ग्राम पञ्चायतका २७ वर्षीय मुकेश ठाकुरलाई पक्राउ गरेको झापा प्रहरी प्रमुख दुर्गाराज रेग्मीले जानकारी दिए ।
पक्राउ परेका ठाकुरले दमक नगरपालिका–९ स्थित लक्ष्मी टोलमा डेरा गरी बस्ने तीन जना भारतीयलाई नेपाली नागरिकता बनाइदिने भन्दै रकम असुलेको प्रहरी अनुसन्धानमा खुलेको छ । ठाकुरले भारतीय नागरिकहरू खगमाया बास्कोटा, सुमन मुखिया र युवराज मण्डलसँग जनही एक एक लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रमुख रेग्मीको भनाई छ ।
ठाकुरलाई रकम बुझाए पनि नागरिकता नपाएको भन्दै उनीहरुले आफुहरु ठगिएको भन्दै प्रहरीमा उजुरी दिएपछि सो घटना बाहिर आएको हो । पक्राउ परेका ठाकुरले उनीहरूबाट उठाएको रकम शैलेन्द्र भुजेललाई बुझाएको प्रहरीको भनाई छ ।
भुजेलले २ महिनाभित्र नागरिकता नबनाइदिए चेकबाट भुक्तानी फिर्ता लिनु भनी आफ्नो खाता भएको बैंकको चेकहरू काटी दिएका थिए । तर, उनले पनि नागरिकता नबनाई दिएको र रकम पनि फिर्ता नगरेको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ ।
ठाकुरलाई ठगी मुद्दामा झापा जिल्ला अदालत भद्रपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । नेपाल नागरिकता ऐन, २०७९ ९पहिलो संशोधन० जारी भएपछि जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु भएपछि प्रहरीले यस्तो गिरोह तथा व्यक्तिमाथि निगरानी बढाएको बताइएको छ ।