सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ ।

आज जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले यस्तो बताउनुभएको हो । बुधवारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने मन्त्री किराँतीको भनाइ छ ।

मंगलवार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको थियो ।

फरक प्रसंगमा मन्त्री किराँतीले वर्तमान गठबन्धन सरकार आलोपालो गरेर सम्झौताअनुसार ५ वर्ष नै टिक्ने दाबी गरे । उनल सरकार छोडेर भाग्ने सुविधा कसैलाई नरहेको जिकिर गरे ।