झापाको भद्रपुर स्थित आन्तरिक राजस्व कार्यालय  लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएको  छ ।  कार्यालयले चालु आर्थिक बर्षको ११ महिनामा रु. २  अर्ब ५६ करोड ५८ लाख ९६  हजार राजस्व संकलन गरेको छ । कार्यालयले असार १५ गते सम्ममा सो राजश्व संकलन गरेको हो । 

कार्यालयले सो अवधिमा ३ अर्ब ६९ करोड २० लाख ३७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । 

जिल्लाका उद्योग धन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा आएको मन्दीको असरले  राजस्व संकलन प्रभावित बनेको   आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख सुभप्रसाद रिजालले बताए । 

 कार्यालयले आर्थिक बर्ष २०७९÷८० को साउनदेखि असार १५ गते सम्ममा  आयकरवापत रु. १ अर्ब १९ करोड ५० लाख १८ हजार संकलन गरेको छ । 

सो अबधिमा कार्यालयले आयाकर वापत रु. १ अर्ब ६३ करोड ३० लाख ८९ हजार रकम संकलन गर्ने लक्ष्य लिएको थियो । 

यसैगरी, मूल्य अभिवृद्धि करतर्फ रु. ८६ करोड ४५ लाख ६६ हजार र अन्त शुल्कवापत रु. ४२ करोड ३१ लाख १९ हजार राजस्व संकलन गरेको छ । 

 पछिल्लो समय देखिएको आर्थिक मन्दीले  कार्यालयको राजश्व संकलनमा समस्या भएको जनाइएको छ ।   कार्यालय मतहातमा ५४ हजार बढी करदाता रहेको बताइएको छ ।