काठमाडौं । निर्माण व्यवसायीले सरकारविरुद्ध आन्दोलन थालेका छन् । असार मसान्तमा पनि रकम भुक्तानी नगरेपछि सरकार विरुद्ध उनीहरुले आन्दोलन थालेका हुन् । 

उनीहरूले विनाबजेटको आयोजना टेण्डर गरेर सरकारले भुक्तानीका लागि आफूहरू सडकमा आउन बाध्य भएको भन्दै आक्रोश पोखेका छन् । सरकारविरुद्ध बिहानै माइतीघरमा निमार्ण व्यवसायीहरु  धर्नामा निस्किएका छन् । उनीहरूले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामासमेत मागेका छन् ।

महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीले गरेको कामको भुक्तानीका लागि अनुनय गर्दा अर्थमन्त्रीले घरको अंश काटेर दिनुपर्नेजस्तो व्यवहार देखाएको टिप्पणी गर्दै आन्दोलनको विकल्प नभएको बताए  ।

‘काम गरेको बिल पेश गर्दा पनि भुक्तानी नदिएपछि आफुहरु समस्यामा परेको उनको भनाई छ ।  रकम नभएको ४ खर्बको आयोजना किन टेण्डर गराइयो ।  स्रोत सुनिश्चित नभएको आयोजना किन निर्माण जिम्मा दिइयो भन्दै प्रतिप्रश्न गरे । 

मूल्यवृद्धि निरन्तर भइरहेको भन्दै आयोजनाको खर्च समायोजन नगरेकोमा पनि उनीहरूको गुनासो छ । बैंक, सप्लायर्स, कामदार जताततै उधारो बाँकी हुँदा आफूहरूले आत्मदाह गर्नुपर्ने अवस्था आइलागेको उनीहरूले बताएका छन् ।

प्रक्रिया पुर्‍याएर बिल लिएर जाँदा भुक्तानी रोकेको व्यवसायीले दाबी गरेका छन् । व्यवसायीहरूले काम गरेको पैसा नदिएर उल्टै ठेकेदारलाई बदनाम गरेको बताएका छन् । मूल्य समायोजन कार्यान्वयन गर्नुपर्ने, निर्माण कार्यको म्याद थप गर्नुपर्नेलगायतका माग राखेका छन् ।