सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । आज सर्वोच्च अदालतका न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको इजलासले मुख्यमन्त्री थापाको मुख्यमन्त्री नियुक्ति बदर गर्ने आदेश दिएको हो ।

थापालाई मुख्यमन्त्री नियुक्तिका लागि सभामुख बाबुराम गौतमले हस्ताक्षर गरी समर्थन गर्नु त्रुटीपूर्ण भएको भन्दै सर्वोच्चले सो त्रुटीपूर्ण दाबीपत्रलाई मान्यता दिई प्रदेश प्रमुखबाट उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्नु संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर गरेको हो ।

त्यसैगरी आदेशमा संविधानको धारा एक सय ६८ को उपधारा दुई बमोजिम सात दिनभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश पनि जारी गरेको छ ।

नयाँ मुख्यमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा नियुक्त मुख्यमन्त्रीले नेपालको संविधानको धारा एक सय ६८ को उपधारा चार बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा धारा एक सय ६८ को उपधारा तीन बमोजिम मुख्यमन्त्री नियुक्त हुने नै भएकाले रिट निवेदकको माग बमोजिम अहिले नै निज रिट निवेदकलाई सरकारको नेतृत्व गर्ने अवसर दिनु दिलाउनु भनी रिट आदेश जारी गरिरहन नपर्ने पनि फैसलामा उल्लेख छ ।

सर्वोच्चको आदेशसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर भएको छ । संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम पुनः सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुपर्नेछ ।

सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर असार २२ गते रिट निवेदन दिएका थिए ।