विराटनगर । मुख्यमन्त्री भएर पनि औपचारिक कार्यक्रममा सहभागी नभई उद्धव थापा पदमुक्त भएका छन् । उनी मुख्यमन्त्रीको रूपमा नियुक्त भएको भोलिपल्ट एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले नियुक्त बदरको माग राख्दै सर्वोच्चमा रिट निवेदन हालेका थिए । रिट निवेदन हालेसँगै मुख्यमन्त्री थापा औपचारिक कार्यक्रममा सहभागी भएनन् ।

यहाँ सम्मकी मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा असार ३१ गते भएको स्रष्टा सम्मान कार्यक्रममा समेत उनी सहभागी भएनन् । सो कार्यक्रममा बिना विभागीय मन्त्री प्रदीप सुनुवारले कोशी प्रदेशका स्रष्टाहरूलाई सम्मान र पुरस्कार वितरण गरेका थिए ।

थापाले कार्यक्रमका प्रमुख अतिथि बन्न अनुरोध गर्दै निम्ता गर्न आएकाहरूलाई अदालतको फैसला नआई कार्यक्रममा नजाने बताउने गरेका थिए । अनौपचारिक कार्यक्रमहरूमा सहभागी भए पनि उनले औपचारिक कार्यक्रममा सहभागिता भने जनाएनन् ।

उनी असार २१ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी २१ दिनमा अदालतको फैसला पछि पद मुक्त भए । असार २२ गते थापाको नियुत्ती बदरको माग राख्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की अदालत गएका थिए । सभामुख बाबुराम गौतमको हस्ताक्षर सहित सरकार गठनका लागि बहुमत दाबी गरेका थापालाई अदालतले पद मुक्त गरेपछि थापासँगै प्रदेशका पाँच मन्त्री पनि पदमुक्त भएका छन् ।

मुख्यमन्त्री थापाले शपथ लिएर काँग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जगेबु विना विभागीय मन्त्री बनाएका थिए ।

त्यसको केही दिनमा माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्कीलाई मन्त्री बनाएका थापाले काँग्रेसका रामकुमार खत्रीलाई पनि मन्त्री बनाएका थिए ।

६ जनाको मन्त्रीमण्डल विस्तार गरेका थापाले माओवादीका जीवन आचार्यलाई मात्रै मन्त्रालयको जिम्मेवारी दिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ समेत रहेका आचार्यलाई शक्तिशाली आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिँदा अन्य चार जना विना विभागीय मन्त्री थिए ।

आर्थिक मामिला तथा योजना मन्त्री भएको १८ दिनमा आचार्य मन्त्रीबाट बिदा हुँदा अन्य चार जना भने विना विभागीय भएरै बिदा भएका छन् । nepalpress.com