विराटनगर । कोशी प्रदेशका तीन मन्त्रीलाई जिम्मेवारी तोकिएको छ । प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएसँगै उनले तीन जना मन्त्री थप गरेका छन् । पहिलो चरणमा ४ सदस्य मन्त्रिमण्डल गठन भएको हो । नेपाली काङ्ग्रेसबाट मुख्यमन्त्रीसहित २ जना र एकीकृत समाजवादी तथा माओवादीबाट एकएक जना मन्त्रीले शपथ लिएका छन् ।

काङ्ग्रेसबाट प्रदीपकुमार सुनुवार मन्त्री भएका छन् । सभामुखबाट राजीनामा दिएका प्रदेशसभा सदस्य बाबुराम गौतम नेकपा माओवादीबाट मन्त्री बनेका छन् । नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगूले फेरि मन्त्री बन्ने मौका पाएका छन् । गौतमले आर्थिक मामिला तथा योजना, जबेगूले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री थापाको सिफारिसमा नियुक्त भएका मन्त्रीहरूले प्रदेश प्रमुखसमक्ष बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सरकार निर्माणको लागि सभामुखबाट राजीनामा दिएका गौतम मुख्यमन्त्रीपछि दोस्रो वरियतामा आर्थिक मामिलामन्त्री भएका हुन् ।

यसअघि सर्वोच्चको आदेशबाट बर्खास्तीमा परेको सरकारमा जबेगू र सुनुवारसमेत मन्त्री थिए । विनाविभागीय मन्त्रीको रूपमा रहेका उनीहरू बर्खास्तीमा परेका थिए । मन्त्रीको रूपमा जिम्मेवारी पाउनेमा सुनुवार र गौतम ओखलढुङ्गाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । जबेगू पाँचथरबाट निर्वाचित भएका हुन् ।

nepalpress.com