जग्गा वर्गीकरण गर्दा वैज्ञानिक विधि नअपनाएको भन्दै हल्दिवारी गाउँपालिकामा प्रमुख तीन दलले अबिलम्व वर्गीकरण सच्याउन माग गर्दै गाउंपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
जग्गा वर्गीकरण अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले संयुक्त रूपमा गाउँपालिका र भूमिसुधार तथा मालपोत कार्यालय झापामा ज्ञापनपत्र बुझाएको जनाइएको छ ।
गाउँपालिकामा राप्रपाले बहुमतको आडमा स्थानीय सरोकारवाला दल तथा संघ संस्थाको समन्वयबिना एकलौटी ढंगले जग्गा वर्गीकरण गराएको दलहरूले आरोप समेत लगाएका छन् ।
नेकपा एमालेका हल्दिवारी अध्यक्ष त्रिलोचन सापकोटा, नेपाली काँग्रेसका हल्दिवारी सभापति गंगा प्रसाई र नेकपा माओवादी केन्द्रकी कार्यवाहक अध्यक्ष टिका राउतद्वारा जारी ज्ञापनपत्र मार्फत स्थानीय सरकार जनताको घरदैलोको सरकार हो। जनताको मर्म र भावनाबमोजिम छिटो, छरितो र सहज रुपमा सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउन माग गरेका छन् ।
हालै हल्दिबारी गाउँपालिकाले स्थानीय नागरिकहरुसंग महत्वपूर्ण सरोकार राख्ने भू–उपयोग योजना तर्जुमा र जग्गा वर्गीकरणको सन्दर्भमा अपनाएको विधि, प्रकृया सहि नभएको उनीहरुको भनाई छ ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र भूमिसुधार तथा मालपोत कार्यालयका निमित्त प्रमुख दिपेन्द्रकुमार खत्रीलाई उनीहरुले ज्ञापन बुझाएका हुन् ।