झापा । झापास्थित मेची भन्सार कार्यालय काँकडभिट्टाबाट बाहिरिएको कन्टेनरभित्र लाखौं राजश्व छलिको सामान भेटिएको राजश्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ ।
सन्तोष खवास प्रोप्राइटर रहेको स्वाभिमान सन्स एन्ड सप्लायर्स मेचीनगरले मेची भन्सारमा तिरेको भन्दा बढी र फरक सामान कन्टेनरमा फेला परेको राजश्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले बताए । राजश्व अनुसन्धानले कन्टेनर खोलेर छानबिन गर्दा भन्सार प्रज्ञापनपत्रमा उल्लेख भए बमोजिम भन्दा बढी र फरक सामान फेला परेको र उक्त सामान जफत गरिएको उनले जानकारी दिए ।
‘प्रारम्भिक अनुसन्धानको क्रममा कन्टेनरमा राजश्व तिरेको भन्दा बढी र फरक सामान भेटियो,’राजश्व अनुसन्धान कार्यालयका प्रमुख आचार्यले भने,‘भन्सार प्रज्ञापनपत्र तिरेको सामान स्वंम सामान धनीले लान पाउंछन् बांकी सामान जफत गरेका छौं ।
प्रज्ञापनपत्रमा उल्लेख नभएको अफजल प्रामाणिक स्वादको गुड नाम लेखिएको ८० कार्टुन हुक्काको फ्लेवर, काँचनको झ्यालीरझ्याम्टा एक हजार किलो र हुक्कामा प्रयोग हुने कोइला ३०० किलो बढी भेटिएको उनले बताए ।
राजश्वले जफत गरेका सामान बापत ४८ लाख ४१ हजार रुपैयाँ धरौटी माग गरेको र उक्त रकम पनि सामान धनीले जम्मा गरेको उनले बताए । उनका अनुसार कन्टेनरको चालकको हकमा ५० हजार धरौटी माग गरिएको छ । राजश्वले पहिलो चरणमा सामान जफत गरी बिगो र धरौटी रकम कायम गरेको बताउँदै उनले ‘राजश्वले अब थप छानबिनको प्रक्रिया अघि बढाउने बताए ।
यता भन्सारबाट बाहिरिएको कन्टेनरभित्र भन्सार तिरेको भन्दा बढी सामान फेला परेको राजश्व कार्यालले ठहर गरेसंगै भन्सारका कर्मचारीलाई पनि बिभागले कारवाहीको प्रक्रिया अघि बढाएको मेचि भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।
उनले घटनाका बिषयमा भन्सारका कर्मचारीलाई सुधपुछ गर्न बिभागले मेचि भन्सारलाई पत्र काटेको उनले बताए । उनले भन्सारका सुब्बा ( जाँचकी) प्रेमबहादुर लामा र भन्सार अधिकृत सरीता ताम्राकारले जाँचपास गरेका थिए । उनीहरुलाई त्यसबारेमा आवश्यक सोधपुछकालागि मेची भन्सारलाई बिभागले पत्र काटेको छ । उनीहरुलाई अबिलम्ब हाजीर हुन् निर्देशन दिइएको छ । उनीहरु ‘छानबिनको क्रममा दोषी देखिएमा विभागीय कारबाही हुने भन्सार प्रमुख रेग्मीको भनाई छ । र उनीहरुलाई राजश्व कार्यालयले पनि बयान लिइसकेको जनाइएको छ ।
यता जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले साउन १२ गते शुक्रबार बेलुका ७ बजेर १५ मिनेटमा मेचीनगर– ६ स्थित फाइरिङ चोकमा पार्किङ गरी राखिएको ना ६ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएर राजश्व बुझाएको थियो ।
मेची भन्सार परिसरभित्रबाट विभिन्न सामान लोड गरी बाहिरिएको कन्टेनरभित्र राजश्व छलेको लाखौं सामान रहेको विशेष सूचनाको आधारमा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको थियो ।
कन्टेनरभित्र राजश्व तिरेको भन्दा बढी र फरक सामान फेला परेपछि एक करोड १ लाखको सामान र २० लाखको कन्टेनरसहित एक करोड २१ लाख २७ हजार ५ सय मुल्य तोकेर आवश्यक कारबाईका लागि प्रहरीले राजस्वमा बुझाएको थियो ।