झापा
जिल्ला कारागार भद्रपुरमा आज दिउँसो भएको घटना २ घण्टापछि साम्य भएको छ । कैदी सरुवाको बिषयलाई लिएर शुक्रबार करिब साढे २ बजेदेखि आन्दोलित बनेका कैदीबन्दीहरुले कारागारभित्रै टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । करीब २ घण्टापछि छलफलका माध्यमबाट घटना साम्य भएको हो ।
उत्तेजित बनेका कैदीबन्दीहरूले कारागारको पर्खाल र भवनको छतमा चढेर घरेलु हातहतियारसहित नाराबाजी गरेपछि घटनालाई साम्य बनाउन प्रहरीले १० राउण्ड हवाई फाइरिङ सहित ७ शेल टेयर ग्यास समेत प्रहार गरेको थियो । कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीबन्दीहरु आन्दोलनमा उत्रिएका हुन् ।
पुरुषतर्फका कैदीबन्दीहरु उत्तेजित बन्दै कारागारको पर्खाल र भवनको छतमा चढेर भाग्न खोज्दा प्रहरीले हवाई फायर सहित टेयर ग्यास हानेको हो ।
कर्तव्य ज्यान मुद्दाका कैदी लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा करिब १५ सय कैदीबन्दी उनको पक्षमा एकै पटक आन्दोलित बनेका थिए।
कैदीबन्दीहरू आन्दोलित बन्दा करिब २ घण्टा कारागारभित्र तनावपूर्ण स्थिति बनेको थियो। सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो सङ्ख्यामा कारागार बाहिर तैनाथ गरिएको थियो।
कैदीबन्दीहरूले झापा कारागार प्रशासन पक्षको निर्णयविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए। कारागारभित्र लगाइएको आगो निभाउन भद्रपुर, मेचीनगर, बिर्तामोड, दमक, कमल गाउंपालिका लगायतको बारुणयन्त्र परिचालन गरिएको थियो ।
कारागारभित्रको तनावपूर्णस्थिति साम्य बनेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए। अवस्था साम्य बनेपछि कारागारका चौकीदार पक्षसँग वार्ता गरिएको बताउँदै प्रजिअ पोखरेलले भने, ‘तत्काल कैदी लावतीलाई सरुवा नगर्ने र कारागार विभागको निर्देशनअनुसार अगाडि बढ्ने सहमति भएको छ।’ कारागारभित्र कुनै ठूलो भौतिक तथा मानवीय क्षति नभएको उनको भनाइ छ।