राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् । आज संसद भवनअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर संसद सुचारु गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको जानकारी समेत दिए ।

सभापति लामिछानेले संसद नचलेको अवस्थामा कुनैपनि बेलामा हामीले हाजिरि मात्र गरेर तलव सुविधा लिनु उचित नरहेको ठानेर यसअघि अवरुद्ध भएको संसद बैठक र अब हुने संसद अवरुद्ध बैठकबाट आउने सेवासुविधा नलिने बताए ।

रास्वपाले शुक्रबार नै संसद सुचारु गर्नको निमित्त र लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर हामीले औपचारिक रुपमा पत्र समेत बुझाएको छ । सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दल बीचको एउटा खिचातानीले संसदलाई अबरुद्ध गर्न नहुने रास्वपाको भनाइ छ । सभापति लामिछानेले सुन प्रकरणबारे आफूले गरेको संकेतलाई केलाएर हेर्ने हो भने नयाँ तथ्यहरु फेला पर्ने बताए ।