मेचीनगर : सम्भवत नेपालमा नै पहिलो पटक निजीस्तरबाट आम उपभोक्ताहरुको हितका लागि मेचीनगरमा महिलाहरुकै नेतृत्वमा उपभोक्ता जागरण अभियान नेपाल झापा शाखा अन्तरगतको पालिकास्तरीय समिति गठन गरिएको छ ।
मेचीनगर–६ स्थित काँकरभिट्टामा आयोजित एक भेलाले समाजसेवी महिला नेतृ रचना घिमिरेको नेतृत्वमा ९ सदस्यीय महिलाहरुकै नेतृत्वमा उपभोक्ता जागरण अभियान नेपाल झापा शाखा अन्तरगतको मेचीनगर नगर समिति गठन गरिएको हो ।
अध्यक्ष घिमिरेको नेतृत्वको समितिमा उपाध्यक्ष पनिता अधिकारी ढकाल, सचिवमा निरु परियार, सहसचिवमा दिपा धिताल भट्टराई र कोषाध्यक्षमा मीरा काफ्ले पोखरेल सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रिता घिमिरे, अनिता गुरागाई, शुष्मा राजबंशी र तारा आचार्य रहेका छन् ।
नजिकिदै गरेको नेपालीहरुको चाडपर्व र सीमा नाकामा राज्यले गरेको कडाईको बहानामा बजारमा खाद्यान्न, तरकारी, फलफूल लगायत दैनिक उपभोग्य वस्तुहरुको अस्वाभाविक ढंगले तस्करी, मूल्यवृद्धि, कृत्रिम अभाव र कालोबजारी भइरहेको जनगुनासो व्यापक बढेको कारण मेचीनगरमा समिति निर्माण गर्न बाध्य भएको उपभोक्ता जागरण अभियान नेपाल झापाका उपाध्यक्ष निलकण्ठ तिवारीले बताए ।
‘समितिमा बस्नु भएका सबै महिलाहरु अब्बल हुनुहुन्छ’, तिवारीले भने–‘राजनीतिक, सामाजिक क्षेत्रमा लाग्नु भएका उहाँहरुको टिमले उपभोक्ताहरुको हितमा काम गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’
उनले उपभोक्ता हित विपरीतको धन्धामा लागेका जोकोहीलाई कानूनी कारवाहीको दायरामा ल्याउन र बजार अनुगमन प्रभावकारी रुपमा गर्न तीन तहकै सरकारलाई अनुरोध समेत गरेका छन् ।
अभियानका झापा अध्यक्ष मोहन काजीको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख आतिथ्यता माइती नेपाल कोशी प्रदेश इन्चार्ज गोविन्द घिमिरे रहेका थिए ।
भेलामा प्रमुख अतिथि घिमिरे, अध्यक्ष काजी, जिल्ला सदस्य अर्जुन कार्की, नर्वनिर्वाचित नगर समितिकी अध्यक्ष रचना घिमिरे, नर्वनिर्वाचित पदाधिकारी र सदस्यहरुले उपभोक्ताहरुको हितमा स्थानीय सरकार र प्रहरी प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । अभियानका झापा उपाध्यक्ष निलकण्ठ तिवारीले स्वागत गरेको भेलाको सञ्चालन सचिव विशाल थापाले गरेका थिए ।