काठमाडौं  र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको हो ।

प्रहरीले बिहीबार नागढुंगामा चेकजाँच गर्दा लुम्बिनीबाट काठमाडौं आउँदै गरेको लु१प५ नम्बरको पर्यटक बसमा ३५ लाख ७३ हजार नक्कली रुपैयाँ बरामद गरेको जनाएको छ ।

प्रहरीले बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधुपुछ पछि बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार नक्कली रुपैँया बरामद गरेको थियो ।

नक्कली नोटको कारोबारमा संलग्न सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली पक्राउ परेका छन् । उनीहरुलाई मुद्रा कसुर अन्तरगत मुद्दा चलाउने पनि प्रहरीले जनाएको छ ।